२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

बेलौरी-कलुवापुर सडकखण्डको के छ हालखबर 


  • २०८२ जेष्ठ २६, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • २२५ पाठक संख्या
  • माधव पौडेल / हरिश्चन्द्र बाग, कञ्चनपुर, २६जेठ।कञ्चनपुर स्थित बेलौरी-कलुवापुर सडकखण्डको ढक्का क्षेत्रअन्तर्गतको करिब ५ किलोमिटर भागमा कालोपत्रे गर्न नसकिँदा स्थानीयवासी र सडक प्रयोगकर्ताहरू वर्षौंदेखि सास्ती भोगिरहेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा पर्ने उक्त खण्डको वातावरणीय अध्ययन नपुगेको कारण सडक निर्माण रोकिएको बताइन्छ । नेकपा एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्टका अनुसार निकुञ्जले प्रारम्भिक वातावरणीय परीक्षण पर्याप्त नभएको भन्दै पूर्ण वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने बताएको छ । तर अहिलेसम्म उक्त अध्ययनका लागि बजेट व्यवस्था नभएकाले काम अघि बढ्न सकेको छैन ।सचिव भट्टले यस विषयमा समाधान खोज्न प्रदेश सरकारका भौतिक योजना मन्त्री, मन्त्रालयका सचिव तथा पूर्व मुख्यमन्त्रीको उपस्थितिमा बेलौरी नगरपालिकाका उपप्रमुखसँगै आफूले सम्बन्धित निकायसँग माग राखेको जानकारी दिनुभयो ।

    “यो सडक २०७३ सालमा केन्द्र सरकारले ठेक्का गरेर सुरु गरेको भए पनि पछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो,” भट्टले भन्नुभयो,“तर उक्त हस्तान्तरणपछि बाँकी ५ किलोमिटर खण्डको लागि वातावरणीय प्रभाव मूल्यांकन हुन नसकेको हो ।”

    हाल बेलौरी-कलुवापुर-नाइल-बुडर सडकलाई एकीकृत गर्दै प्रदेश गौरवको योजना अन्तर्गत सूचीकृत गरिएको छ । तर हरेक वर्ष बजेट विनियोजन भए पनि वातावरणीय अध्ययन नहुँदा कार्यान्वयनमा कठिनाइ आइरहेको सचिव भट्टको भनाइ छ । उहाँले प्रदेश सरकारलाई यो पटकको बजेटमा ई.आई.ए. अध्ययनका लागि छुट्टै बजेट व्यवस्था गर्न विशेष आग्रह गरिएको बताउनु भयो ।

    सडकको चौडाइबारे पनि निकुञ्जले ४ मिटर मात्र प्रस्ताव गरे पनि प्रदेश गौरवको योजना अनुसार कम्तीमा १२ मिटर चौडाइमा निर्माण हुनुपर्ने सचिव भट्टको धारणा छ । “यो ई.आई.ए. पटक-पटक गर्न मिल्दैन, त्यसैले सुरुमै आवश्यक मापदण्ड अनुसार अध्ययन गरिनु पर्छ,” उहाँले भन्नुभयो । सडक निर्माणमा ढिलाइ हुने अवस्थालाई अन्त्य गर्दै स्थानीयवासीले वर्षौँदेखि सहज र सुरक्षित सडक सुविधाको माग गर्दै आए पनि अपेक्षाकृत प्रगति भने देखिएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट