हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ जेठ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने चार जना विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०८१ मा भएको परीक्षामा संस्थागत सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने छात्रछात्राहरूलाई जनही ४५००/- को २५% लाभ कर कट्टी गरी ३३७५/- नगद सहित सम्मान पत्र र खादा ओढाएर पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुने विद्यार्थीहरूमा किड्स इन्टरनेशनल स्कुलका छात्र अपिल कार्की (३.९८ जिपिए), डिलाशैनी बाल विद्या मन्दिरका छात्रा निशा कुमारी भट्ट (३.९४ जिपिए), सरस्वती मावि अमरपुरका छात्रा कृतिका जोशी (३.७१ जिपिए) र राष्ट्रिय मावि पिपलाडीका छात्र कविराज पन्त (३.६४ जिपिए) रहनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख रणबहादुर महराले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै पठनपाठनको वातावरण सिर्जना गर्ने अभिभावक तथा विद्यालय परिवार प्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै शिक्षा शाखाका प्रमुख टिकेन्द्र राज भट्टले विद्यार्थीहरूलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट, वडा नम्बर ७ का वडाध्यक्ष प्रताप सिंह धामी, सदस्य धिरेन्द्र प्रसाद भट्ट, विद्यालयका प्रतिनिधि, अभिभावक र सञ्चारकर्मीहरूको उपस्थितिमा उक्त सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र कुमार जोशीले गर्नु भएको थियोे ।
प्रतिक्रिया दिनुहोस