२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

अन्तर्राष्ट्रिय श्रमिक दिवस : लालझाडीमा श्रमिक तथा उद्यमी सम्मान सहित विविध कार्यक्रम 


  • २०८२ बैशाख १८, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • २२५ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ वैशाख।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कञ्चनपुरको लालझाडी गाउँपालिकामा जनचेतनामूलक कार्यक्रमसहित विविध गतिविधि आयोजना गरिएको छ । बिहीबार बिहान गाउँपालिकाको आयोजनामा स्थानीय जनप्रतिनिधि, कर्मचारी र श्रमिकहरूको सहभागितामा जनचेतनामूलक सन्देशसहित प्रभातफेरी गरिएको थियो । प्रभातफेरीपछि गाउँपालिकाको सभाहलमा “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा श्रमिक तथा उद्यमशीलताको सम्मान र प्रोत्साहन स्वरूप उत्कृष्ट श्रमिक, उद्यमी तथा व्यवसायीहरूलाई सम्मान गरिएको गाउँपालिकाका उद्यम विकास शाखा संयोजक नरेश प्रसाद भट्टले जानकारी दिनुभयो । उक्त अवसरमा आठ जना श्रमिक र चार जना उत्कृष्ट उद्यमी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो ।कार्यक्रममा रोजगार सेवा केन्द्रका संयोजक केशव दत्त पन्तले श्रम तथा श्रमिक दिवसको महत्वबारे प्रस्तुति राख्नुभएको थियो । उहाँले श्रमिकको भूमिकाबारे गहन विश्लेषण गर्दै श्रमिक अधिकार र सशक्तीकरणका पक्षमा जोड दिनुभयो । कार्यक्रममा मन्तव्य राख्दै श्रमिक माया रानाले स्वरोजगारमूलक उद्यममार्फत जीविकोपार्जन गरिरहेको अनुभव सुनाउँदै घरखर्चका लागि अब अरूसँग सहयोग माग्नु नपरेको बताउनुभयो । त्यस्तै, माछापालन व्यवसायी विजय चौधरीले विदेशमा चार वर्ष काम गरेर फर्किएपछि सुरु गरेको व्यवसायबाट सन्तुष्ट रहेको बताउनुभयो । गाउँपालिकाका कार्यपालिका सदस्य विन्दुदेवी तिरुवाले श्रमिकको पसिनाले धेरैको जीवन निर्वाह भइरहेको उल्लेख गर्दै विपन्न वर्गप्रति सरकारले सहयोग गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । वडा नं. २ का अध्यक्ष आशाराम रानाले श्रमिक सम्मानका लागि ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने सिद्धान्त कार्यान्वयनमा जोड दिनुभयो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले श्रमिकको उत्प्रेरणाका लागि प्रतीकात्मक रूपमा श्रमिक, उद्यमी र व्यवसायीलाई सम्मान गर्ने अभ्यास गरिएको र आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले सम्मानित सबै श्रमिक तथा उद्यमी व्यवसायीहरूलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रमको समापनका क्रममा गाउँपालिका अध्यक्ष निर्मल रानाले श्रमिकहरूको सम्मानका लागि राज्य र स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले स्वरोजगारमूलक कार्यक्रमलाई प्रवर्द्धन गर्दै श्रमिक र उद्यमीहरूको योगदानबाट नै समृद्धि सम्भव हुने उल्लेख गर्दै सबैमा प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट