२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

मोटरसाइकल सहित जलेको अवस्थामा मृत फेला परेका रानाको शव परीक्षणका लागि धनगढी लगियो


  • २०८२ बैशाख ९, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४३३ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ बैशाख । कञ्चनपुरको बेलौरीस्थित कलकत्ता नजिकै मंगलबार बिहान जलेको अवस्थामा फेला परेका बेलडाँडी-३ कमरी निवासी ५० वर्षीय हरिकिसन रानाको शव परीक्षणका लागि धनगढी लगिएको छ । परिवारजनका अनुसार, राना मंगलबार एकाबिहानै घरबाट निस्किएका थिए । उनी करिब ७ किलोमिटर टाढा बेलौरीको कलकत्ता क्षेत्रमा रहेको निर्मल शारदा आर्यघाट नजिकै मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा भेटिएका थिए । मृतकका आफन्तहरूले रानालाई हातखुट्टा बाँधेर जलाइएको हुन सक्ने आशङ्का व्यक्त गर्दै निष्पक्ष छानबिन र परिवारजनको भरण पोषणको माग गरेका छन् ।

    इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपेन्द्र बहादुर चन्दका अनुसार मृतकको सनाखत गर्दा बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका ५० वर्षीय हरिकिसन राना भएको पुष्टि गरिएको छ । घटनाको गम्भीरता हेर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको थियो । धनगढीबाट तालिम प्राप्त कुकुर समेत घटनास्थलमा ल्याई घटनास्थल जाँचबुझ गरिएको छ । प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    मृतक राना पेशाले भैंसीपालक किसान हुन् । उनी स्थानीय क्षेत्रमा दुग्ध व्यवसायमा पनि सक्रिय रहेको जानकारी प्राप्त भएको छ । घटनास्थलमा सङ्घीय सांसद तारा लामा तामाङ सहित स्थानीय तहका जनप्रतिनिधिहरू समेत पुगेका छन् । उनीहरूले पनि घटनाको सत्य तथ्य छानबिनका लागि सुरक्षा निकायलाई अनुरोध गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट