बेलौरी,२९ चैत्र। कञ्चनपुरको बेलौरी नगरपालिकाले शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षा नतिजा शुक्रबार सार्वजनिक गरेको छ।सार्वजनिक नतिजा अनुसार पालिका भित्र रहेका तीन संस्थागत विद्यालयले शतप्रतिशत सफलता हासिल गरेका छन् भने तीनवटा सामुदायिक विद्यालयको नतिजा भने पूर्णरूपमा शून्य रहेको देखिएको छ।सत प्रतिशत नतिजा हासिल गर्ने संस्थागत विद्यालयहरूमा लिटिल गार्डेन बोर्डिङ स्कुल,रिजेन्सी एकेडेमी र सनराइज विद्या सदन रहेका छन्।भने कृष्ण आधारभूत विद्यालय , गोरखनाथ माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालय भने सम्पूर्ण विद्यार्थी अनुत्तीर्ण भएका विद्यालयको सूचीमा परेका छन्।
नगरपालिकाभित्रका ३४ वटै सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट १२२४ जना विद्यार्थी परीक्षामा सहभागी हुन योग्य ठहरिएका थिए। तीमध्ये ११७८ जना परीक्षामा सहभागी भए, जसमा ६१६ जना विद्यार्थी सफल भए भने ५६२ जना अनुत्तीर्ण भएका छन्। यसले गर्दा समग्र नतिजा ५२.२३ प्रतिशत मात्र सफलता दरमा सीमित भएको छ।परीक्षाफलले संस्थागत र सामुदायिक विद्यालयबीचको गुणस्तरीय अन्तर फेरि एकपटक उजागर गरिदिएको छ। यसले शिक्षाको गुणस्तरमा ध्यान दिन पालिकालाई गम्भीर आत्ममूल्याङ्कन गर्नुपर्ने संकेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस