लाल बहादुर एस के,१४ पौष।कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालयले ४६ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आईतबार सम्पन्न भएको छ।कार्यक्रमको सभापति विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गगन सुनार, प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापा, विशिष्ट अतिथि निवर्तमान नगर प्रमुख जीवनराज थापा,अतिथिमा पुनर्वास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्बरबहादुर थापा ,नेपाली काङ्ग्रेसका नेता शुक बहादुर तामाङ,नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरा सिंह साउँद,निवर्तमान वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता सन्त कुमार चौधरी, स्थानीय सञ्चारकर्मी,अभिभावक,शिक्षक शिक्षिका लगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक महाबिर चन्दले राख्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापाले कार्यक्रम सम्बोधनका क्रममा विद्यालयको समग्र विकासमा सबै पक्षको भुमिका महत्त्वपूर्ण हुने बताउँदै एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम अनुसार विद्यालयलाई सहयोग गर्न सकारात्मक रहेको र क्रमशःविद्यालय नमुना बनाउन केहि रचनात्मक कार्य गर्न सक्रिय हुनुपर्नेमा जोडिनुभयो। शिक्षक, विद्यार्थी र अभिभावकले व्यवस्थापन पक्षमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सके शैक्षिक क्षेत्रको आमूल परिवर्तन ल्याउने सकिने समेत बताउनुभयो।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवम् निवर्तमान नगर प्रमुख जीवन राज थापाले शैक्षिक सुधारका कार्यक्रममा आफू निरन्तर सकारात्मक रहेको बताएका छ्न् । विद्यालय व्यवस्थापनका विषयहरु र विद्यालय लाई प्राविधिक र आधुनिकिरण गर्ने बारे आफ्नो कार्यकालमा प्रयास गरेको बताउदै आगामी दिनमा पनि उक्त विषयमा निरन्तरताका लागि आफूले पनि पहल गर्ने बताउनुभयो।वार्षिकोत्सव कार्यक्रमको अवसरमा भव्य समारोह साथ विद्यालयको लागी महत्त्वपूर्ण योगदान पुर्याउनहुने निवर्तमान पिटिए अध्यक्ष मीन बहादुर तामाङ,पिटिए सदस्यहरू राजेश्वरी चन्द,रजक बहादुर,पानमती मंगोला ,लाल बहादुर चन्द, र गोरखा भुललाई सम्मान प्रदान गरेको छ। त्यस्तै, शिक्षकतर्फ वीर बहादुर चन्द,शंकर बहादुर सार्की (का. स.),र स्वर्गीय गुरिलाल चौधरी (का. स.)लाई पनि विद्यालयको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान गरिएको थियो।
यसैगरी सहयोगदाताका रूपमा विद्यालयलाई उल्लेखनीय सहयोग पुर्याउने पत्रकार लाल बहादुर एस.के. लाई पनि सम्मान गरिएको छ , भने निवर्तमान विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्र सिंह साउद, धनकला सार्की, र सन्त कुमार चौधरीलाई पनि सम्मान पत्र र दोसल्लाले सम्मानित गरिएको छ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण, र सम्मान कार्यक्रमले समारोह लाई विशेष आकर्षक बनाएको थियो। विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, र नाटकजस्ता सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरी कार्यक्रममा विशेष रंग भरेका थिए। साथै, वार्षिकोत्सवको अवसरमा विद्यालयले शैक्षिक र खेलकुदमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन सुनारले विद्यालयको ऐतिहासिक उपलब्धिहरू र भविष्यका योजनाबारे चर्चा गर्दै विद्यालयलाई थप सशक्त बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले प्रगति विवरण प्रस्तुत गर्दै ,विद्यालयको शैक्षिक सुधार र विकासका लागि विद्यालयले गरेका प्रयासबारे जानकारी गराउँदै सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। संचालकको सहजीकरण शिक्षकद्वय भिम लाल तामाङ र दिपक सार्कीले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस