कञ्चनपुर, ११ मंसिर । शान्ति पुनर्स्थापना गृह (पीआरसी) शाखा कार्यालय कञ्चनपुरले आफ्नो वार्षिक सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ । मंगलवार कञ्चनपुरको महेन्द्रनगरस्थित चेतन होटलमा आयोजित कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ मा संचालन गरेको कार्यक्रमहरुको वार्षिक प्रगति विवरण तथा सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो ।कञ्चनपुरबाट संस्थाले मानव बेचबिखन तथा ओसारपसारको जोखिमपूर्ण यात्रामा रहेका २ सय ९७ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई उद्धार गरी पारिवारीक पुर्नमिलन गराएको जानकारी गराएको छ ।भने बेलडाँडीका ७२ जनालाई परामर्श र ६ जनाको उद्धार गरि पारिवारीक पुर्नमिलन गराएको संस्थाका सुपरभाईजर मनिषा न्यौपानेले जानकारी दिनुभयो।संस्थाको रोहबरमा ७ जनालाई महिला, किशोरी तथा बालबालिकाहरुलाई मानव बेचविखन तथा ओसारपसार विरुद्धमा र जबरजस्ती करणीको मुद्धा दर्ता गराएको जानकारी दिनुभयो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दुर्गाप्रसाद बोहराले मानव बेचबिखनमा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो।खासगरि सीमानासंग जोडिएका पालिकाका पदाधिकारीहरुलाई गम्भिर रुपमा मानव बेचबिखनविरुद्ध काम गर्न समेत आग्रह गर्नुभयो।कार्यक्रममा बेलौरी नगर उपप्रमुख जोगराम चौधरीले भने मानव बेचबिखन रोक्न थप जनचेतनाको आवश्यकत भएकाले यसको प्रचार प्रसारमा जोड दिनुपर्ने सुझाव दिँदै कार्यक्रमका सभाअध्यक्ष संस्थापक अध्यक्ष शान्ता सापकोटाले उद्धारको कार्य गर्दा आफुले ठुलो चुनौतीको सामना गर्दै आएको जनाउदै यसमा काम गर्ने बहिनीहरुलाई ढुक्कका साथ कामगर्न आग्रह गर्दै भने सबै कुरा पैसा होइन त्यसैले नेपाली चेलीहरुलाई बेचविखनबाट जोगाउन सके यही पुन्य हुने जनाउनु भयो ।सीमानाकासंग जोडिएको समस्या रहेकाले विभिन्न गैरसरकारी संघ संस्थाहरुको समन्वय र पालिकाहरुलाई जिम्मेवारी प्रदान गरी निगरानी र सचेतनामूलक अभियान गर्नुपर्नेमा उहाँले जोडदिनु भयो ।शान्ति पुनर्स्थापना गृहले कञ्चनपुर जिल्लामा वि.सं. २०७६ साल देखी आफ्नो शाखा कार्यालय स्थापना गरी कञ्चनपुरको गड्डाचौकी, ब्रह्मदेव, दोधारा चाँदनी, बेलौरी र बेलडाँड़ी सिमा क्षेत्रमा सम्पर्क कार्यालय र सुचना तथा परामर्श सेवा केन्द्र सञ्चालन गरी विभिन्न सरोकारवाला सरकारी तथा गैर सरकारी निकायहरु संग समन्वय र सहकार्य गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सुचना तथा परामर्श सेवा प्रदान संगै उद्धार कार्य गर्दै आईरहेको छ। शान्ति पुनर्स्थापना गृहले विगतको वर्षहरु जस्तै यस वर्ष पनि आ.व. २०८०/०८१ को सामाजिक लेखा परिक्षण र प्रगती विवरण प्रस्तुत कार्यक्रम गरेको हो । कार्यक्रममा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधी, पालिकाका महिला विकास शाखा प्रतिनिधी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार लगायतको सहभागिता रहेका थियो ।
प्रतिक्रिया दिनुहोस