हरिश्चन्द्र बाग, कैलाली, ०४ मंसिर । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन बनाएर संसद्मा प्रवेश गर्ने तयारी अन्तिम चरणमा रहेको बताउनु भएको छ । कैलालीको धनगढीमा मंगलबार आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले २०१२ सालमा बनेको ऐनका आधारमा नेपाल प्रहरी र २०५८ सालमा बनेको ऐनकै आधारमा सशस्त्र प्रहरी सङ्गठन चलिरहेकोले त्यसलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएको हो ।
मन्त्री लेखकले समाजमा अराजकता निम्त्याउन खोज्ने जस्ता गतिविधिलाई तत्काल नियन्त्रणमा लिन जरुरी रहेको उल्लेख गर्नुहुँदै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सिमानामा हुने राजश्व चुहावट र लागू औषध ओसारपसारलाई पूर्ण रूपले नियन्त्रण गर्न तथा शान्ति सुरक्षा, अमनचैन कायम राख्न तथा अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि ठोस कार्य योजना बनाएर अघि बढ्न मातहतका निकायलाई निर्देशन पनि दिनुभयो ।मन्त्री रमेश लेखकले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरण सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्न मातहतका सुरक्षा अधिकारीहरूलाई निर्देशन समेत दिनुभएको छ । गृह मन्त्रालय र प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, गृह सचिव गोकर्णमणि दवाडी, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस