हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ कार्तिक । कञ्चनपुर जिल्ला लागू औषध कारोबारको अखडा बनेको चर्चा त जताततै सुनिन्छ । गतविगतमा प्रहरीले ससाना मात्राका कारोबारी र ओसारपसार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेका समाचार त दिनहुँ प्रायः सुनिन्थे । अहिले भने प्रहरीले कञ्चनपुरमा खैरो हेरोइन कारोबारी पक्राउको नयाँ रेकर्ड बनाएको छ । मंगलबार साँझ कञ्चनपुरको पुनर्वास स्थित आईबीआरडीबाट ठूलो मात्रामा लागू औषध कारोबार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा कञ्चनपुर स्थित लागूऔषध नियन्त्रण व्युरो महेन्द्रनगर, ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र अस्थायी प्रहरी पोष्ट आईबीआरडीबाट खटिएको संयुक्त टोलीले ११८ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन सहित पर्सा घर भई धनगढी अस्थायी ठेगाना बताउने ३० वर्षीय अमित कुमार वर्णकार र कञ्चनपुरको बेलौरी नगरपालिका २ टेडुवा बस्ने ४३ वर्षीया सीतादेवी चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस