२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बेलौरीका तीर्थयात्री ज्येष्ठ नागरिकहरू सहितको टोलीद्वारा कागबेनी र मुक्तिनाथको दर्शन


  • २०८१ कार्तिक ५, सोमबार मा प्रकाशित ३ महिना अघि
  • १९६ पाठक संख्या
  • हरिश्चन्द्र बाग, मुस्ताङ, ०५ कार्तिक । कञ्चनपुरको बेलौरीका तीर्थयात्री ज्येष्ठ नागरिकहरू सहितको टोलीद्वारा मुस्ताङका कागबेनी र मुक्तिनाथको दर्शन गरिएको छ । आइतबार दिउँसो कागबेनी पुग्नु भएका तीर्थयात्रीहरूले त्यहाँ रहेको धर्मशालामा भोजन र रात्रि बास गर्नु भएको थियो । उहाँहरूले सोमबार बिहान कागबेनी तीर्थस्थल कालीगण्डकीमा स्नान गरेर तीर्थ श्राद्ध गरी मुक्तिनाथको दर्शन गर्नुभएको छ ।

    कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयको वार्षिक स्वीकृत ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको रु. २ लाख ५० हजार बजेटमा ज्येष्ठ नागरिकहरूलाई मुक्तिनाथ सम्मको तीर्थयात्रा गराइएको वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार वडा भित्रका ६८ वर्ष देखि १०२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरू मध्ये २५ जना ज्येष्ठ नागरिकहरूलाई तीर्थ यात्रामा लगिएको हो । तीर्थयात्रामा ज्येष्ठ नागरिकसँगै स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार र स्वयंसेवक समेत गरी ३५ जनाको सहभागिता रहेको छ ।

    तीर्थयात्री ज्येष्ठ नागरिकहरूले दशकौँदेखि मुक्तिनाथसम्मको यात्रा गर्ने सोच बनाए पनि अहिले वडा कार्यालयले तीर्थयात्रा गराएकोमा निक्कै खुसी व्यक्त गर्नुभयो । उहाँहरूले वडाका जनप्रतिनिधिहरूलाई धन्यवाद स्वरूप आशीर्वाद पनि दिनुभएको छ । शुक्रबार दिउँसो बेलौरीबाट तीर्थयात्रा सुरु गरिएकोमा शनिबार कास्कीको पोखरा स्थित तालबाराही र म्याग्दीको बेनी स्थित गलेश्वर महादेव मन्दिरको दर्शन गरिएको थियो । आइतबार बिहान तातोपानीमा स्नान गरेर तीर्थयात्रीहरूको टोली कागबेनीका लागि प्रस्थान गरेको थियो । सोमबार कागबेनी र मुक्तिनाथको दर्शन गरेर उक्त टोली फर्किएको छ । फर्किने क्रममा पनि विभिन्न धार्मिक स्थलहरूको दर्शन गराइने वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट