हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ असोज । महानवमीको अवसर पारेर कञ्चनपुरको बेलौरी बजारमा अवस्थित कालिका मन्दिरको प्रवेशद्वारमा गजुर र मूर्ति राखी उद्घाटन गरिएको छ । शुक्रबार बिहान वैदिक परम्परा अनुसार पूजाआजा गरेर प्रवेशद्वारको उद्घाटन गरिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशराज पन्तले बताउनु भयो । प्रवेशद्वारको दुवैतिर शेषनाग र सिंहको मूर्ति बनाइएको छ । उक्त कालिका मन्दिरमा भक्तजनहरूले नवरात्र अवधिभर पूजाआजा गर्नु भएको छ । आज पनि बिहानैदेखि भक्तजनहरूको उपस्थिति रहेको थियो ।
झण्डै साढे चार दशक अगाडि स्थापित गोरखाकाली माताको मन्दिरको भवन जीर्ण बन्दै गएपछि तत्काल नयाँ भवन निर्माण गर्न आवश्यक रहेको महसुस गर्दै २०७५ सालमा कालिका मन्दिर निर्माणका लागि शिलान्यास गरिएको थियो । आर्थिक वर्ष २०७५।०७६ मा बेलौरी नगरपालिकाले मन्दिरको नयाँ भवन निर्माणका लागि रु. ५ लाख बजेट विनियोजन गरी उपभोक्ता समिति मार्फत मन्दिर निर्माणको काम थालिएकोमा त्यसयता वडा नम्बर ४ र नगरपालिकाले धेरथोर बजेट विनियोजन गर्ने गरेका छन् । गर्वको कुरा त के छ भने मन्दिर निर्माण समितिको सक्रियतामा आधाभन्दा बढी लागत त विभिन्न क्षेत्रमा रहनु भएका मनकारी व्यक्तिहरूको दान सहयोगबाट सङ्कलन भएको छ ।
हिन्दु धर्म प्रति आस्था राख्ने भक्तजनहरूको सहयोग र सक्रियतामा सुदूरपश्चिम प्रदेशकै धार्मिक पर्यटकीय स्थलका रूपमा स्थापित हुने गरी आकर्षक एवं सुनको गजुर सहित रु. १ करोड ५० लाख लगानीको अनुमानित योजना बनाइ कालिका मन्दिर निर्माण कार्य गरिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिनुभयो । अब भगवान् शिवको ३५ फिट अग्लो मूर्ति स्थापना गर्ने योजना रहेको उहाँको भनाइ छ । स्थानीय सरकार र जनसमुदायको संयुक्त लगानीमै कालिका मन्दिर निर्माण गरिएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालको भनाइ छ । मूल मन्दिर निर्माणको कार्य सकिएपछि गत वर्षदेखि त्यहाँ नित्य पूजाआजा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस