हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ असोज । कञ्चनपुरको बेलौरी र लालझाडीमा जङ्गली हात्तीको त्रास बढेको छ । पछिल्लो केही दिनयता जङ्गली हात्तीको झुण्ड बेलौरी र लालझाडीका बन तथा बस्तीहरूमा घुमिरहेको छ । केही दिनअघि हात्तीको आक्रमणबाट लालझाडीका ५० वर्षीय रामदल रानाको मृत्यु भएको थियो भने आज थप एक युवकको मृत्यु भएको छ । यसका साथै जङ्गली हात्तीको झुण्डले पाक्नै लागेको धान, उखु तथा केराबारीमा क्षति गरिरहेको किसानहरूको दुखेसो छ । उक्त स्थानका बासिन्दाहरूमा त्रास बढेको छ भने हात्ती बस्तीमा पसेमा भगाउनका लागि रातभर जाग्राम समेत बस्नु परेको स्थानीय बासिन्दाको भनाइ छ ।
सोही घटनाक्रममा एक युवकको शव फेला परेको छ । बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित पुष्पलाल स्मृति सामुदायिक बनमा बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरीको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । उक्त स्थान वरपर हात्तीको दिसा र रुखहरू समेत मडारेको जस्तो देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट चौधरीको मृत्यु हात्तीको आक्रमणबाटै भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । यद्यपि मृतकको शव परीक्षण हुन बाँकी छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तो छ, घटनाक्रम :
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मैनाहा स्थित दशैँको नाच हेरी गएराति ०१ः३० बजेको समयमा घर फर्कने क्रममा बेलौरी नगरपालिका वडा नम्बर ५ बन्तरिया स्थित जङ्गलमा अचानक हात्तीको आवाज सुनी बेलौरी नगरपालिका वडा नम्बर ६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरीले चलाएको से ४ प ८६१८ नम्बरको मोटरसाइकल छोडी भागी बेपत्ता भएको तथा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी सम्पर्कमा आएका भनी स्थानीयहरूले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी टोली खटिई रोशन चौधरी र नवीन चौधरी प्रहरीको सम्पर्कमा रहेका । निज उमेश चौधरी सम्पर्कमा नआएको हुँदा खोजतलास कार्य भइरहेकोमा आज बिहान ०६ः४० बजेको समयमा बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित पुष्पलाल स्मृति सामुदायिक बनमा निज उमेश चौधरी मृत अवस्थामा फेला परेको, उक्त स्थान वरपर हात्तीको दिशा र रुखहरू समेत मडारेको जस्तो देखिएको । अन्य अनुसन्धान कार्य जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस