हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ असोज । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित शान्तिपुरमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर शिव धामको प्राङ्गणमा नवरात्रको अवसरमा श्रीमद्देवी भागवत महोत्सव आयोजना गरिएको छ । यही असोज १७ गतेका दिन घटस्थापनाको अवसरमा उद्घाटन गरिएको धार्मिक महोत्सव असोज २५ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा कथा वाचक पण्डित जीवराज पाण्डेयद्वारा कथा र सत्सङ्ग भइरहेको मूल आयोजक समितिका संयोजक भेषराज अर्यालले जानकारी दिनुभएको छ ।
असोज १७ गते घटस्थापनाका दिन कलश यात्रा, शोभा यात्रा, देवीको मूर्ति स्थापना सहित उद्घाटन कार्यक्रम गरिएको थियो । सोही दिन बिहान ११ बजेदेखि दैनिक पूजापाठ सुरु गरिएको हो । प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म नित्य पूजापाठ र अर्चना हवन, ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म श्रीमद्देवीभागवत मूल पाठपारायण, १ बजे देखि अपराह्न ४ बजेसम्म कथा प्रवचन आरती तथा जलप्रसाद ग्रहण, साँझ ६ बजे सन्ध्याकालीन आरती पुष्पाञ्जली र रात्रि ८ बजे देखि ११ बजेसम्म भजन कीर्तन तथा दानदाताको सम्मान गर्ने कार्यक्रम भइरहेका छन् ।
नित्य भण्डारा समेत भइरहेको बताइएको छ । असोज २५ गते महानवमीका दिन कुमारी पूजन गरी समापन गरिने मूल आयोजक समितिका सचिव तथा बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले सके नौ दिन; नसके एक दिन अवश्य पाल्नुहुन श्रद्धालु भक्तजनहरूलाई अनुरोध गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस