हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ असोज।कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत अवस्थामा फेला परेको छ । शुक्रबार दिउँसो राष्ट्रिय निकुञ्ज र नेपाली सेनाले संयुक्त गस्ती गर्ने क्रममा निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाऊ जङ्गलमा पोथी हात्ती मृत अवस्थामा फेला पारेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
हात्ती मृत अवस्थामा फेला परेको स्थानको वस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको हुन सक्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरले बताउनु भयो । हात्ती एक दिन अगाडि नै मरेको हुनसक्ने र पेटमा ग्यास भरिएर पछाडिको भागबाट गोबर भरिएको थैली बाहिरिएको हुन सक्ने उहाँले बताउनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नेपाली सेना र पशु चिकित्सक सहितको टोलीले मृत हात्तीको शव परीक्षण गरेको छ।
प्रतिक्रिया दिनुहोस