हरिश्चन्द्र बाग, कञ्चनपुर, ११ साउन । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएको छ । तर अपराधी पत्ता लाग्न भने सकेको छैन । २०७५ साउन १० गते दिउँसो आफ्नी साथीको घरमा पढ्न गएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको मृत शरीर भोलिपल्ट बिहान भीमदत्त नगरपालिका १८ स्थित उखु बारीमा फेला परेको थियो । उक्त घटना भएको ६ वर्ष बित्दा पनि प्रहरी अनुसन्धान नतिजाशून्य छ ।
निर्मलाको परिवारजनले त अब अपराधी पत्ता लाग्ला भन्ने आश नै मारिसकेका छन् । तर पनि अहिलेका गृहमन्त्री रमेश लेखक कञ्चनपुरको सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले निर्मलाको परिवारजनमा पुनः झिनो आशा भने पलाएको छ । घटना भएपछि यस बिचमा सरकारका नेतृत्वकर्ता, राजनीतिक दलका शीर्ष नेतृत्व सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीहरूले समेत निर्मलाको हत्यारा छिट्टै पत्ता लाग्ने आश्वासन दिनु भएको थियो । तर हत्यारा अझैसम्म पत्ता लाग्न नसकेपछि अब त आश नै मरिसकेको मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्तको भनाइ छ ।१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपश्चात् सडकदेखि सदनसम्म तात्यो । घटनालाई राजनीतिकरण गर्ने प्रयाससमेत भए । न्यायिक आन्दोलनका नाममा जिल्लामा अशान्ति फैलिँदा अर्का बालक सन्नी खुनाले पनि अकालमै ज्यान गुमाउनु पर्यो । केही व्यक्ति घाइते भए । अनुसन्धानले निष्कर्ष नपाउँदा भने पीडित परिवारलाई न्याय नपाएको पीडाले पोल्छ । मृतक बालक सन्नी खुनाकी आमा मञ्जु राजी खुना पनि अपराधी पत्ता नलाग्दा पीडितले न्याय नपाएको महसुस गर्नुहुन्छ ।
६ वर्षको यस अवधिमा बनेका सबै सरकारहरूले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गरी अपराधीलाई हदैसम्मको कारबाही गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै ठोस नतिजा भने देखिएन । वास्तविक अपराधी को हो भन्ने पत्ता लाग्न नसक्दा प्रहरीले अत्यधिक आलोचना खेप्नु परेको छ । राज्य कोषबाट ठूलो रकम खर्च गरेर गरिएको प्रहरी अनुसन्धान अपराधीसम्म पुग्न नसक्दा ६ वर्ष पूरा भइसक्दा पनि यो घटना रहस्यमै छ । तर प्रहरीले घटनाबारे विभिन्न कोणबाट सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको बताउन छाडेको छैन । उक्त घटना सहित निष्कर्षमा पुग्न बाँकी सबै घटनाहरूको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक चक्रराज जोशी बताउनु हुन्छ ।निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले एक सयभन्दा बढी आशङ्कित व्यक्तिहरूमाथि अनुसन्धान ग¥यो । केहीलाई त थुनामै पनि राख्यो । तर पनि अपराधी अझैसम्म पत्ता लाग्न सकेको छैन । हरेक अपराधको अनुसन्धान आफैँमा सहज हुँदैन । त्यसमा पनि बलात्कार जस्तो जघन्य अपराधमा बिना प्रमाण कसैलाई आरोपी बनाउनु अर्को अपराध हुन सक्छ । ६ वर्षदेखि प्रहरीका लागि त्यस्तै भएको छ, निर्मला पन्त बलात्कार र हत्याको घटना । यो घटनाले जसरी परिवारलाई निर्मलाको सम्झनाले सताउँछ, त्यसरी नै प्रहरीले अपराधी किन भेटिएन भन्ने प्रश्नको सामना गर्नुपरेको छ ।
६ वर्षे अवधिमा बनेका सबै सरकारले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गरी अपराधीलाई कारबाही गर्ने आश्वासन त दिए तर ठोस नतिजा देखिएन । दुई दुई पटक गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गर्नुभएको थियो । सोही अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले घटनाको अनुसन्धान गरिरहेको बताएको थियो । सरकारबाट बाहिरिँदै गर्दा केही साताअघि लामिछानेले अनुसन्धान नतिजा उन्मुख रही अन्तिम चरण पुगेको दाबीसमेत गर्नुभयो । तर अहिलेसम्म केही उपलब्धि भएको छैन । वर्तमान सरकारका गृहमन्त्री रमेश लेखक कञ्चनपुरकै हुनुहुन्छ । उहाँले आफ्नै निर्वाचन क्षेत्रको यो मुद्दालाई कसरी अगाडि बढाउनु हुन्छ ? त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस