काठमाण्डौं ६ साउन।त्रिशूली नदीमा खसेर बेपत्ता भएका यात्रुको खोजीकार्यका लागि चितवन पुगेको भारतीय प्राविधिक टोलीले आइतबार बिहान घटनास्थल सिमलतालबाट खोजी सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेस रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधीक टोलीले खोजीकार्य बिहानबाट सुरु गरेको जानकारी दिनुभयो ।
शनिबार आवश्क प्रविधिसहित यहाँ आइपुगेको टोलीलाई जिल्ला सुरक्षा समितिसित छलफल गरेको थियो ।
भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरइफ) का १२ जनाको प्राविधिकी टोली चितवन पुगेको हो ।
“ टोलीले ३० मिटर गहिराइसम्मको वस्तु संकेत गर्न सक्ने सोनार क्यामेरा लगायतको प्रविधि प्रयोग गरेको छ ।” प्रहरी उपरीक्षक रिमालले भन्नुभयो–“ जिल्ला सुरक्षा समितिको बैठकपछि हिजो नै टोली कुरिनटार पुगिसकेको थियो ।”
केही दिनअघि गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबिचको शिष्टाचार भेटमा सिमलताल पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्यका लागि अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउने बचन राजदूतले दिएका थिए ।
घटनापछि लगातार सुरक्षा निकाय खोजीकार्यमा जुटेको छ । हालसम्म २५ जनाको शव भेटिएको छ । जसमा सात जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय प्राविधिक टोली गरी दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रतिक्रिया दिनुहोस