हरिश्चन्द्र बाग, कञ्चनपुर, १० असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको पन्ध्रौँ गाउँ सभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि कूल ५३ करोड १६ लाख ७२ हजार बराबरको बजेट पारित गरिएको छ । सोमबार बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाको सभाध्यक्षतामा आयोजित गाउँ सभाको पन्ध्रौँ अधिवेशनमा अध्यक्ष रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्ति नाथले आगामी आर्थिक वर्षको बजेट विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेटको कूल खर्चमा चालुतर्फ रु. ३६ करोड १ लाख ९२ हजार मध्ये १२ करोड सामाजिक सुरक्षाको र पुँजीगत तर्फ रु. १७ करोड १४ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ ।
बेलडाँडी गाउँपालिकाको सङ्घीय तथा प्रदेश समानीकरण, राजस्व बाँडफाँड र आन्तरिक स्रोतबाट वडागत वडा नं. १ मा ४९ लाख ४६ हजार, वडा नं. २ मा ५२ लाख ११ हजार, वडा नं. ३ मा ३८ लाख ९८ हजार, वडा नं. ४ मा २२ लाख, वडा नं. ५ मा ४७ लाख ९२ हजार विनियोजन गरिएको छ । शाखागत कार्यक्रम अन्तर्गत महिला विकास शाखातर्फ ६ लाख ५० हजार, भूमि व्यवस्थापनतर्फ ४५ लाख, पशुपन्छी विकास शाखातर्फ १७ लाख, स्वास्थ्य शाखातर्फ १ करोड ५५ लाख, शिक्षा तथा खेलकुद शाखातर्फ १ करोड ७३ लाख, वन तथा वातावरण शाखातर्फ ८ लाख, सहकारी शाखातर्फ ८ लाख, उपाध्यक्ष विशेष कार्यक्रममा १७ लाख, प्रधानमन्त्री रोजकार कार्यक्रममा १ लाख र समावेशी कार्यक्रममा २ लाख विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि प्रस्तावित राजश्व र खर्च विवरण :
आय तर्फ :
आन्तरिक आय :- रु. ८५ लाख
राजश्व बाँडफाँड : रु. ७ करोड ४८ लाख
अन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) रु. २८ करोड ७३ लाख ७ हजार
अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार): रु. ३ करोड ७ लाख ५९ हजार
सरी आएको मौज्दात : रु. ००
कूल जम्मा आय : रु. ५३ करोड १६ लाख ७२ हजार
व्यय तर्फ :
चालु खर्च तर्फ : रु. ३६ करोड १ लाख ९२ हजार
पुँजीगत खर्च तर्फ : रु. १७ करोड १४ लाख ८० हजार
कुल खर्च : रु. ५३ करोड १६ लाख ७२ हजार
आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेटका प्राथमिकताहरू :
> आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने,
> उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,
> जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने,
> शैक्षिक तथा स्वास्थ्यमा गुणात्मक विकास हुने,
> लैङ्गिक समानता, सामाजिक समावेशीकरणको अभिवृद्धि गर्ने,
> स्थानीय स्रोत साधन र सीपमा आधारित भई जनसहभागिताको अभिवृद्धि गर्ने,
> सेवा प्रवाह संस्थागत क्षमता अभिवृद्धि र सुशासनमा योगदान पुर्याउने,
> दिगो विकास वातावरणीय संरक्षण तथा संवर्द्धन गर्न सघाउ पुर्याउने,
> स्थानीय तहले आवश्यक देखेका अन्य विषयहरू ।
चालु आर्थिक वर्ष २०८०।०८१ को प्रक्षेपित कुल बजेट रु. ४१ करोड ८ लाख ९७ हजार ८ सय ७८ रुपैयाँ विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु. २८ करोड ६३ लाख ८१ हजार ४ सय ७ रुपैयाँ आम्दानी प्राप्त भएको छ । जस मध्ये चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु. २३ करोड ९८ लाख ९३ हजार ५ सय २८ रुपैयाँ खर्च भएको छ । जुन ५८.३८ प्रतिशत वित्तीय प्रगति हो । गत आर्थिक वर्ष २०७९।०८० मा प्रक्षेपित कुल बजेट रु. ४२ करोड ७६ लाख ८३ थियो । उक्त वर्ष वास्तविक आय ३४ करोड २५ लाख २३ हजार ७ सय ५२ रुपैयाँ थियो । त्यो वर्ष कुल खर्च ३० करोड ५० लाख ४६ हजार ७ सय ७१ रुपैयाँ रहेको देखिन्छ ।
“समृद्ध पालिका; सुखी गाउँवासी” भन्ने नारा सहित प्रस्तुत गरिएको
गाउँपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, भूमि व्यवस्थापन लगायतका विषयलाई प्राथमिकता दिएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्टले जानकारी दिनुभयो । गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम, बजेट र विभिन्न विधेयकहरू पारित गरी पन्ध्रौँ सभा सम्पन्न गरिएको प्रवक्ता बिष्टले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस