२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

उपनिर्वाचनमा प्राप्त जनमतको नेपाली काङ्ग्रेसले कदर गरेको छ : प्रमुख सचेतक लेखक


  • २०८१ बैशाख १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५३२ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ बैशाख । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले भर्खरै सम्पन्न भएको उपनिर्वाचनको मत परिणामलाई नेपाली काङ्ग्रेसले सकारात्मक रूपबाट लिएको बताउनु भएको छ । गृह जिल्ला कञ्चनपुर पुग्नु भएका लेखकले मंगलबार बेलौरीमा पत्रकारसँग कुराकारी गर्दै इलाम २ मा भएको प्रतिनिधि सभा सदस्य र बझाङ १ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा प्राप्त जनमतको नेपाली काङ्ग्रेसले कदर गरेको बताउनु भयो । २०७९ मा भएको निर्वाचनमा गठबन्धन सहित चुनावमा जाँदा बझाङ १ को प्रदेशमा निर्वाचन जितिएको र इलाम २ को प्रतिनिधि सभामा थोरै मतान्तरले पराजित हुनु परेको स्मरण गर्दै प्रमुख सचेतक लेखकले अहिले एक्ला एक्लै चुनावमा जाँदा नेपाली काङ्ग्रेसले प्राप्त गरेको मत विगत भन्दा सुधारात्मक रहेको सुनाउनु भयो ।

    आसन्न बजेट अधिवेशनमा नेपाली काङ्ग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने प्रश्नमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले गएको अधिवेशनमा नै लाखौँ मानिसहरूले सहकारी संस्थाहरूमा बचत गरेको अर्बौँ रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको लगायत काङ्ग्रेसले उठाएका केही महत्त्वपूर्ण विषयवस्तुलाई सम्बोधन नगरी सरकारले अधिवेशन नै बन्द गरेको आरोप लगाउनु भएको छ । आउँदो अधिवेशनमा जानु पूर्व काङ्ग्रेस लगायतका प्रतिपक्षी दलले उठान गरेका विषयवस्तुलाई सरकारले नजरअन्दाज गरेमा अधिवेशनमा कठिनाइ उत्पन्न हुने र त्यसको जिम्मेवार सरकार स्वयं हुनुपर्ने उहाँले चेतावनी दिनुभयो । नेपाली काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा जोडिनु भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको नभई संसदीय छानबिन समिति बनाई अनुसन्धान गर्नुपर्ने माग गरेको र सरकार त्यसका लागि तयार हुनुपर्ने उहाँले प्रष्ट्याउनु भयो । यसका साथै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट, विपक्षीको भावनालाई समेट्न सरकारले देखाउने व्यवहारका आधारमा काङ्ग्रेसले भूमिका निर्वाह गर्ने लेखकले बताउनु भयो ।

    राजनीतिक अस्थिरता धेरै भएकोले अब दुई ठुला दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर सङ्घीय सरकार र प्रदेश सरकार बनाउनु पर्ने आम जनभावना देखिएकोले त्यसलाई नेपाली काङ्ग्रेसले सकारात्मक रूपमा हेरेको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो । यद्यपि यस सम्बन्धमा ठोस छलफल भने सुरु भइनसकेको उहाँको भनाइ छ ।

    यसैबिच, पूर्वमन्त्री एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएका रमेश लेखकलाई कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसले भव्य स्वागत गरेको छ । लेखकको सम्मानमा महाकाली बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले महाकाली बहुमुखी क्याम्पसको स्तरोन्नति र भारतीय राजदूतावासबाट स्कुल बस उपलब्ध गराउन अहम् भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गर्दै उहाँको कार्यकालमा भएका विकास निर्माणका कार्यहरूको समेत चर्चा गर्नुभयो । त्यस कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले समग्र सुदूरपश्चिमको विकासका लागि दूरगामी सोच राख्ने नेताका रूपमा रमेश लेखकको प्रशंसा गर्दै कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा भन्सार नाका स्तरोन्नति, हुलाकी सडकखण्ड लगायत यहाँका विभिन्न विकास निर्माणका कार्यहरूमा अझै पनि महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभएको छ । नेता लेखकले आफ्नो तर्फबाट हुन सक्ने सहयोग र पहलका लागि सधैँ तयार रहेको बताउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट