हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ बैशाख । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र (सिपरेड) ले प्रथाजनित संस्था र परम्परागत अभ्यासहरूको मान्यता सहित अधिकारमा आधारित संरक्षण बारे शुक्रबार कञ्चनपुरको लालझाडीमा छलफल र अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम मार्फत आदिवासी जनजातिहरूको प्रथाजनित अभ्यास र परम्परालाई संरक्षण प्रवर्धन गरी कानुनी मान्यता प्रदान गर्नका लागि विज्ञ तथा सरोकारवालाहरूबिच छलफल र अन्तरक्रिया गरिएको आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका परियोजना संयोजक विश्वास चेपाङले जानकारी दिनुभयो । सोही कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायका अन्तर्राष्ट्रिय महासन्धि; जैविक विविधता महासन्धिमा रहेको अधिकार बारे सहभागी लाई जानकारी दिनु भयो ।
कार्यक्रममा वन जङ्गल संरक्षण गर्न आदिवासी जनजातिको ठुलो भूमिका रहेको आदिवासी जनजाति अनुसन्धान समितिका फिल्ड संयोजक नरेन्द्र लामाले बताउनु भयो । सो कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयनाथ शर्माले आदिवासी जनजाति समुदायले वन जङ्गलको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोले उपभोक्ताको पहिलो प्राथमिकतामा समेत सोही समुदाय अग्रस्थानमा रहनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले पनि आदिवासी जनजातिले वन जङ्गल संरक्षण गरेको इतिहास सर्वविदितै रहेकोले व्यावहारिक रूपमा त्यसबाट लाभ लिने कुरामा पनि उक्त समुदाय प्राथमिकतामा रहनु पर्ने बताउनु भयो । आदिवासी जनजाति समुदायले स्वयम् आफ्नै देशमा केही गरेर खान जानेका छन्, वर्षभरि खाने कुराहरूको जोहो गर्न जानेकोले अहिलेसम्म सङ्कट भोग्नु नपरेको उहाँको भनाइ छ ।
यसै गरी लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले आदिवासी जनजातिहरूलाई मध्यनजर गर्दै उहाँहरूको पहुँचका निमित्त पालिकाबाट बजेट विनियोजित गरेको र आगामी दिनमा पनि आदिवासी जनजातिको हकहितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । वन जङ्गलको छेउमै बसेर वन जङ्गलको संरक्षण गर्दै आएका आदिवासी जनजाति समुदायका मानिसहरूलाई वन जङ्गलमा जान समेत अधिकार नदिइएकोले धेरै दुःख खेप्नु परेको प्रकाश राना बताउनु हुन्छ । आदिवासी जनजाति समुदायको समस्याको समाधानका लागि वन जङ्गलमा आधारित अधिकार प्राप्त भए सहज हुने उहाँ भनाइ छ । आदिवासी जनजाति अनुसन्धान समितिकी कञ्चनपुर जिल्ला संयोजक प्रेमवती रानाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले वन ऐन र त्यसको कार्यान्वयनका विषयमा प्रशिक्षण दिनुभएको थियो । काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता विद्यार्थीहरूले समसामयिक विषयवस्तुमा सरोकारवालाहरूसँग जिज्ञासा राख्नु भएको थियो । सोही संस्थाले शनिबार लालझाडीमै समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली सम्बन्धी तालिम समेत सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस