हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, १४ बैशाख । कञ्चनपुरको बेलौरीमा लुथ्रन वर्ल्ड रिलिफ र निड्स नेपालको साझेदारीमा सञ्चालित उद्यमी परियोजनाको पालिका स्तरीय जानकारी बैठक तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको अध्यक्षतामा शुक्रबार बेलौरी नगरपालिकाको कार्यालयमा उक्त बैठक तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी, वडाध्यक्षद्वय लाल बहादुर चौधरी र प्रकाश श्रेष्ठ, नगर प्रवक्ता हर्कबहादुर भूल सहित बेलौरी नगरपालिका अन्तर्गतका कृषि शाखा, उद्यम विकास शाखा र रोजगार शाखाका प्रतिनिधिहरूले बेलौरीमा उद्यमशीलताका सम्भावना र योजनाका विषयमा आआफ्ना धारणा राख्नु भएको थियो । त्यस क्रममा नगर प्रमुख पोतिलाल चौधरीले विगतमा नगरपालिकाले थुप्रै सीपमूलक तालिम प्रदान गरे पनि व्यावहारिक जीवनमा त्यसको प्रयोग निक्कै कम भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले विगतमा निड्स नेपालका थुप्रै परियोजनाबाट स्वरोजगारीमूलक कार्यहरू भएको बताउनु हुँदै उद्यमी परियोजनामार्फत थप रोजगारी सिर्जना हुने अपेक्षा गर्नुभयो । परियोजना संयोजक रूपक नाथले परियोजनाका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक राजेन्द्र बहादुर सिंह, श्रमिक बहुउद्देश्यीयका सदस्य दीपक बहादुर चन्द, पत्रकारहरू र निड्स नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको निड्स नेपालका विनोद कडाराले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण निड्स नेपालका फिल्ड स्टाफ लोकेन्द्र प्रसाद जोशीले गर्नुभएको थियो । उक्त परियोजना कञ्चनपुरका बेलौरी र पुनर्वासमा सञ्चालन भइरहेको छ । बेलौरीका ७५ जना र पुनर्वासका ७५ जना गरी जम्मा १५० जनालाई उद्यमी बनाउने उद्देश्यले परियोजना सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस