हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ बैशाख । यो कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ मा रहेको कालिका मन्दिर हो । झण्डै साढे चार दशक अगाडि स्थापित गोरखाकाली माताको मन्दिरको भवन जीर्ण बन्दै गएकोले तत्काल नयाँ भवन निर्माण गर्न आवश्यक रहेको हुँदा २०७५ सालमा यो कालिका मन्दिर निर्माणका लागि शिलान्यास गरिएको थियो । आर्थिक वर्ष २०७५।०७६ मा बेलौरी नगरपालिकाले मन्दिरको नयाँ भवन निर्माणका लागि रु. ५ लाख बजेट विनियोजन गरी उपभोक्ता समिति मार्फत मन्दिर निर्माणको काम थालिएकोमा त्यसयता वडा नम्बर ४ र नगरपालिकाले धेरथोर बजेट विनियोजन गर्ने गरेका छन् । गर्वको कुरा त के छ भने मन्दिर निर्माण समितिको सक्रियतामा आधाभन्दा बढी लागत त विभिन्न क्षेत्रमा रहनु भएका मनकारी व्यक्तिहरूको दान सहयोगबाट सङ्कलन भएको छ ।
हिन्दु धर्म प्रति आस्था राख्ने भक्तजनहरूको सहयोग र सक्रियतामा सुदूरपश्चिम प्रदेशकै धार्मिक पर्यटकीय स्थलका रूपमा स्थापित हुने गरी आकर्षक एवं सुनको गजुर सहित रु. १ करोड ५० लाख लगानीको अनुमानित योजना बनाइ कालिका मन्दिर निर्माण कार्य भइरहेको कालिका मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिनुभयो । स्थानीय सरकार र जनसमुदायको संयुक्त लगानीमै कालिका मन्दिर निर्माण भइरहेको छ । मूल मन्दिरको कार्य सकिएपछि अहिले प्रवेशद्वार र घेर पर्खाल निर्माण भइरहेकोले यथाशक्य सहयोगका लागि सबैलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस