हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ बैशाख । यही बैशाख ९ गते आइतबारका दिन सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह हुने भएको छ । दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बिहीबार विश्वविद्यालयमा आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अनुराधा रोकायाले कुल एक हजार ३ सय ३७ जना विद्यार्थी मध्ये ३ सय ७६ जना प्रत्यक्ष दीक्षित हुने बताउन भयो । यस पटक अनलाइन मार्फत पनि फाराम सङ्कलन गरिएकोले बाहिर रहेका विद्यार्थीहरूले पनि फाराम भरेको उहाँको भनाइ छ ।
केन्द्रीय क्याम्पसबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थी हेमन्त भट्टलाई चान्सलर र केन्द्रीय क्याम्पसबाट इन्जिनियरिङ सङ्कायमा स्नातक तह उत्तीर्ण नवीन प्रसाद भट्टलाई भ्वाइस चान्सलर पदक प्रदान गरिने बताइएको छ । यस्तै निरा कुमारी जोशी, गणेश दत्त शर्मा, वीरेन्द्र चौधरी, हरि प्रसाद अवस्थी, अभिषेक गिरी, सुनिल थापा, नवीन प्रसाद जोशी, टार्जन भण्डारीलाई गोल्ड मेडल प्रदान गरिने छ । यसपालि पहिलो पटक एमफिलतर्फ पनि चार जना विद्यार्थीहरूलाई दीक्षित गरिने छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिंह रावतको प्रमुख आतिथ्यता रहने छ । उक्त दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सुमना श्रेष्ठ सहितको सहभागिता रहने सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्ण बहादुर थापाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस