हरिश्चन्द्र बाग, कञ्चनपुर,२० फागुन । कञ्चनपुरको बेलौरीमा नेपाल आदिवासी जनजाति महासङ्घ बेलौरी नगर समन्वय परिषद्को आयोजना र बेलौरी नगरपालिका कार्यालयको सहयोगमा शैक्षिक सामग्री र पोसाक वितरण तथा उद्घोषण तालिम समापन गरिएको छ । “पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन ! जाती भाषा धर्म र संस्कृति संरक्षणको लागि देश व्यापी राष्ट्रिय जागरण !!” भन्ने नारा सहित शनिबार बेलौरी नगरपालिकाको सभा हलमा समापन कार्यक्रम गरिएको थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घ बेलौरी नगर समन्वय परिषद्का अध्यक्ष कृष्ण चौधरीको सभाध्यक्षता तथा पूर्व खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यता, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीको विशिष्ट आतिथ्य र बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी लगायतको आतिथ्यतामा आदिवासी जनजाति विपन्न परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको हो ।
आदिवासी जनजाति भित्रका जातीय संस्थाबाट पाँच जना स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरू र प्रत्येक वडाबाट पाँच पाँच जना गरी सबै वडाबाट ५० जना सहित जम्मा ५५ जनालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ । साथै यही फागुन ६ गतेदेखि सञ्चालन भएको एक हप्ते उद्घोषण तालिमको समेत समापन गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ बेलौरी नगर समन्वय परिषद्का सचिव शुक्रराज रानाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस