कञ्चनपुर,०८ फागुन। कञ्चनपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसन अन्तर्गत सञ्चालित सार्क स्कुलले आफ्नो छैटौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्थापनाको छोटो समयमा नै ख्याती कमाउन सफल महेन्द्रनगरमा रहेको सार्क स्कुलले सोमबार विज्ञान कला प्रदर्शनी सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । नेपालका ख्याती प्राप्त संस्कृती तथा शिक्षाविद्, अध्यात्मचिन्तक डा. चिन्तामणि नाथ योगीको प्रमुख आतिथ्यतामा सार्क एजुकेसन फाउन्डेसनले विविध कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै डा. चिन्तामणि नाथ योगीले वालवालिकाहरूलाई असल संस्कारको शिक्षा घरबाट दिनुपर्ने बताउनु भएको छ । शिक्षा र सीप विद्यालयबाट सिक्न सकिने, गुगलबाट डाउनलोड गरेर समेत सिक्न सकिने भए पनि असल संस्कार घरपरिवारबाट मात्रै लिन सकिने समेत उहाँले बताउनु भयो ।
सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको बताउँदै विद्यालयले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु र गिनिज बुकमा नाम लेखाउन सफल भएको प्रमाण पत्र समेत वितरण गरिएको बताउनु भयो । साथै उहाँले कार्यक्रममा अभिभावकहरूको समेत सतप्रतिशत सहभागिता रहेको बताउनु भयो । कार्यक्रममा केहि दिन अगाडि काठमाण्डौँमा सञ्चालित अन्तराष्टिय रोवोटिक्स कम्पिटिसनमा सहभागी भई गोल्डेन गेट कलेज काठमाण्डौँलाई पराजित गर्दै प्रथम हुन सफल सार्क एजुकेसन फाउन्डेसनको टिमलाई नगद पुरुस्कार सहित सम्मान समेत गरिएको थियो भने मन्टेश्वरीका बालबालिकाहरूले पाठ्यक्रममा आधारित उत्कृष्ट कृयाकलाप वाफत गिनिज बुकमा नाम लेखाउन सफल भएको प्रमाण पत्र समेत विद्यालयलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा फरक किसिमले अभिभावकद्वारा विद्यार्थीहरुको बौद्धिक शक्ति परीक्षण, योग विज्ञान प्रस्तुति, सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रमको आयोजना गरेर समापन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस