कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका कर्मचारीले ‘कथित पत्रकार’ भन्दै निकालेको विज्ञप्तिमा पत्रकारहरूले आपत्ति जनाएका छन्। विज्ञप्तिमार्फत सार्वजनिक रूपमा पत्रकारमाथि लाञ्छना लगाएकोप्रति पत्रकारहरूले आपत्ति जनाएका हुन।
दुई पत्रकार समातिएको घटना लगत्तै सार्वजनिक रूपमा विज्ञप्तिमार्फत ‘कथित पत्रकार’ भन्दै निजामती कर्मचारीले पत्रकारिता क्षेत्रमै आक्रमण गर्न खोजेको उनीहरूको निष्कर्ष छ।समाचारका विषयमा आपत्ति भए मिडिया हाउस तथा प्रेस काउन्सिलमा गुनासो गर्न पाउँछ। विज्ञप्तिमार्फत सार्वजनिक रूपमा पत्रकारमाथि लाञ्छना लगाउनु आपत्तिजनक छ,’ नेपाल पत्रकार महासंघ बैतडीका पूर्वअध्यक्ष समेत रहेका सीमारेखा डटकमका सम्पादक राजेन्द्र नाथले भने, ‘यसले पत्रकारको मनोबल गिराएको छ। स्वतन्त्र पत्रकारितामाथि हमला गरेर कमजोर पार्न खोजिएको देखिन्छ।यस्तै ‘कथित पत्रकार’ भन्दै निकालिएको कर्मचारीको विज्ञप्ति सामाजिक सञ्जालमा साझा गर्दै विकल्प दैनिकका पत्रकार रनि विवशले पत्रकारमाथिको अर्को आक्रमण भनेर लेखेका छन्।
साझा आवाज अनलाइनमा प्रसारित भिडिओप्रति आपत्ति जनाउँदै सोमबार दोधारा चाँदनीका कर्मचारीले निकालेको विज्ञप्तिमा पटक पटक ‘कथित पत्रकार’ उल्लेख छ।दोधारा चाँदनी नगरपालिका– ६ का वडा सचिव मोहनसिंह सुनार कार्यालयमा ढिलो आएको भिडिओ सामाग्री साझा आवाजले पुस २० गते प्रसारण गरेको थियो।
त्यस दिन दोधारा चाँदनीको ११ औँ नगर सभा थियो। वडा कार्यालयको अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द भएको कर्मचारीको विज्ञप्तिमा झुटो दाबी गरिएको छ।वडा कार्यालयले सेवा बन्दको कुनै सूचना नै जारी गरेको थिएन। वडा कार्यालयमा सेवाग्राही वडा सचिव कुरेर बसेका थिए। तर वडा सचिव सुनार कार्यालय समयमा घरायसी कामका लागि सरकारी सवारी साधनको दुरुपयोग गरेको पाइएको थियो।
सचिव सुनार ४० मिनेट ढिलो गरी कार्यालय आएको समाचार प्रसारणसँगै विवादमा आएपछि दोधारा चाँदनी नगरपालिकाले ढिला आएका ती सचिवलाई नगरपालिका तानेको थियो।दोधारा चाँदनी नगरपालिका–६ का अध्यक्ष ओम बस्नेत र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सचिव सुनारलाई नगरपालिका तानेको बताएका थिए।
‘सचिव मोहन सुनार लामो समयदेखि यहीँ क्षेत्रमा काम गर्दै आउनुभएको राम्रै कर्मचारी हुन। तर पछिल्लो समयमा वडाध्यक्षज्यूले ढिलासुस्ती बारे मौखिक रूपमा उहाँको बारेमा गुनासो गर्नुभएको थियो,’ प्रमुख प्रशासकीय अधिकृत मिश्रले भनेका छन्, ‘तपाईँको रिपोर्टिङका क्रममा पनि ढिलो आएको पाइयो। त्यसपछि उहाँ बिदामा बसेपछि अर्को कर्मचारीलाई वडामा पढायौँ। विवादकै कारण बिदापछि उहाँलाई नगरपालिका नै राख्यौँ।अर्का सचिवलाई वडा कार्यालयमा खटाएको विषयमा साझा आवाजले माघ २७ गते अर्को भिडिओ समाचार प्रसारण गरेको थियो।यही विषयमा दोधारा चाँदनीका केही कर्मचारीले ढिलो गरी कार्यालय आएका कर्मचारीको बचाउ गरेर समाचारमा आपत्ति जनाउँदै ‘कथित पत्रकार’ भन्दै विज्ञप्ति जारी गरेका थिए।भिडिओ कसरी कपोकल्पित हुनसक्छ? भिडिओमा कर्मचारी ढिलो आएको प्रष्टै देखिएको छ,’ प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष समेत रहेका पश्चिम नेपाल दैनिकका सम्पादक लक्ष्मण पन्तले भने, ‘पत्रकारमाथि अनावश्यक लाञ्छना लगाएर पत्रकारितालाई कमजोर बनाउन खोज्नु दुःखद हो।राष्ट्र सेवक निजामती कर्मचारीले विज्ञप्तिमार्फत पत्रकारमाथि अनावश्यक आरोप लगाएर चरित्र हत्या गर्न खोजेको पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्रप्रसाद अवस्थीले बताए। ‘कर्मचारीलाई जवाफदेही बनाउने पत्रकारलाई अपहेलित गर्न खोजिएको छ। पत्रकारमाथि सार्वजनिक रूपमा अपाच्य शब्द प्रयोग भएका छन्,’ उनले भने, ‘चरित्रहत्या भएको छ। हामी कानुनी उपचारमा जान्छौँ।पत्रकारमाथि अनावश्यक लाञ्छना लगाउँदै विज्ञप्तिमा अपाच्य शब्द प्रयोग भएको प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेजबहादुर सिंहले बताउनुभयो। ‘विज्ञप्तिमा पत्रकारको मनोबल गिराउने तवरले अपाच्य शब्द प्रयोग भएका छन्,’ उनले भने, ‘यसले पत्रकारिता क्षेत्रमै आक्रमण भएको महसुस भएको छ।३० जना राष्ट्र सेवक कर्मचारीले हस्ताक्षर गरेर सार्वजनिक गरेको वक्तव्यको भर्त्सना गर्दै पत्रकार शेरबहादुर सिंहले कथित पत्रकार भनेर व्यक्तिलाई हवाला दिएर पत्रकारिता पेसामाथि धावा बोलेको बताए। ‘केशव भट्ट भन्ने व्यक्ति नै हुन । त्यसपछि पत्रकार । छड्के उनको कार्यक्रम । प्रस्तोता उनी । शैली आ–आफ्नै । तर ३० जना राष्ट्र सेवक कर्मचारीले हस्ताक्षर गरेर सार्वजनिक गरेको वक्तव्यको घोर भर्त्सना गर्दछु । कथित पत्रकार भनेर व्यक्तिलाई हवाला दिएर पत्रकारिता पेसा माथि धावा बोल्न खोजिएको हो भने कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको धारणा सार्वजनिक होस,’ उनले भनेका छन्, ‘मिडिया हाउस र उसले प्रकाशन र प्रसारण गरेको विषयप्रति असहमति हो भने पत्रकार महासंघ, प्रेस काउन्सिल देखि सम्मानित अदालतको ढोकासम्म पुग्न सक्ने कानुनी राज्यमा छौ हामी । समग्र पत्रकारिता पेसालाई शब्दबाट गरिएको दुर्व्यवहारको विषयमा पत्रकार महासंघ गम्भीर बनोस्।’
पत्रकार महासंघ कञ्चनपुर शाखाले यसका विषयमा मंगलबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण पनि गराएको छ। सहायक प्रमुख जिल्ला अधिकारीले कुनै पनि पेसालाई होच्याउनु तथा लाञ्छना लगाउनु गलत भएकाले यस विषयमा आफू गम्भीर भएको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस