माधव पौडेल/हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय तथा नगर क्षेत्रभित्र रहेका सामुदायिक बनका पदाधिकारीहरूलाई डिभिजन वन कार्यालय कञ्चनपुरले प्रचलित वन ऐन, नियमावली, सामुदायिक वनका निर्देशिका र मार्गदर्शन बारे प्रशिक्षण दिएको छ । मंगलबार बेलौरी नगरपालिकाको सभाहल अभिमुखीकरण कार्यक्रम गरी डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले प्रशिक्षण दिनु भएको हो । बन ऐन २०७६ मा सामुदायिक वन र उपभोक्ता समिति सम्बन्धी भएका व्यवस्था, अन्तर तह समन्वय समिति सम्बन्धी जानकारी, विधान र कार्ययोजना, सामुदायिक वन र सामुदायिक वन उपभोक्ता समिति भित्र देखापरेका समस्या लगायतका विषयमा प्रशिक्षण दिइएको कुण्डा सबडिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले स्थानीय सरकार सञ्चालन ऐनमा सामुदायिक बन उपभोक्ता समितिको कुल आम्दानीको १० प्रतिशतसम्म कर लगाउन पाउने व्यवस्था रहेको बताउँदै सामुदायिक वनले नगरपालिका कार्यालयसँग समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनु भएको छ ।
कटानी क्षेत्रमा निजी बन बनाउन सकिने व्यवस्था पनि रहेकोले निजी वन बनाइ यस क्षेत्रमा पर्यटकीय स्थलहरूको विकास गर्न सकिने उहाँले बताउनु भयो । सामुदायिक वन नजिकका उपभोक्ता बाहेक सामुदायिक वनसँग नजोडिएका बेलौरी नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ६, ८ र १० का उपभोक्तालाई सहजै रूपमा काठ दाउरा उपलब्ध नभएको गुनासो आएको छ । सामुदायिक वनका पदाधिकारीहरूले स्थानीय तहले सामुदायिक वनका लागि आवश्यक सहयोग र सहजीकरणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस