हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ पुस । नेपाल रेडक्रस सोसाइटी बेलौरी उपशाखाको २८औँ वार्षिक साधारण सभा गरिएको छ।
शुक्रबार बेलौरी नगरपालिका वडा नम्बर ६ शान्तिनगरस्थित कार्यालय परिसरमा बेलौरी उपशाखाका सभापति विष्णु प्रसाद तिवारीको सभापतित्वमा आयोजित साधारण सभामा उपशाखाका सचिव शेरबहादुर बिष्टले साधारण सभाको सहजीकरण गर्नुभएको थियो । सभाका प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरीले वडामा यस वर्ष बजेट घटेर आएका कारण रेडक्रसका लागि गत वर्ष गरिएको प्रतिबद्धता पूरा गर्न नसकेकोमा आत्मालोचना गर्दै बजेटको उचित व्यवस्थापन भएको खण्डमा उक्त प्रतिबद्धता पूरा गर्ने उद्घोष गर्नुभयो । त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले रक्त सङ्कलन केन्द्र (ब्लड बैङ्क) का लागि भवन निर्माणको कार्य भएको र त्यसलाई सञ्चालनका लागि पहल गर्ने बताउनु भएको छ । विशिष्ट अतिथि प्रेमसिंह बोहरा, निवर्तमान उपसभापति हरिसिंह बिष्ट, आजीवन सदस्य मोहन कुँवर लगायतका वक्ताहरूले रेडक्रस संस्थाले पुर्याएको योगदानको चर्चा गर्दै हरेक मानवमा सेवाभाव विकासको शुभकामना व्यक्त गर्नुभयो । सांगठनिक र आर्थिक प्रतिवेदन उपशाखाका सचिव शेरबहादुर बिष्टले प्रस्तुत गर्नुभएको थियोे ।
प्रतिक्रिया दिनुहोस