२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

बेलौरीमा माघ म्याला सुरु


  • २०८० पौष २६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७९४ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ पुस । कञ्चनपुरको बेलौरीमा ‘माघ म्याला’ सुरु भएको छ । थारु कल्याणकारिणी सभाको आयोजनामा बिहीबारदेखि बेलौरीको खुला मञ्चमा ‘माघ म्याला’ सञ्चालन गरिएको हो । थारु समुदायको लोक संस्कृति संरक्षणका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति, माघी, झुम्रा, मुग्रुह्ववा नाच तथा अन्य सांस्कृतिक प्रस्तुति, थारु समुदायको रहनसहन संस्कृति र भेषभुषा प्रदर्शन, थारु लेखन प्रस्तुति, थारु समुदायका विशेष खानाका परिकार रहेका छन् । थारु समुदायको कला, लोक संस्कृति र भाषा साहित्यको जगेर्ना एवं प्रवर्द्धन र संरक्षणमा सहयोग पुर्‍याउने, थारु समुदायमा रहेका कुरीति हटाइ एकजुट भई शिक्षित समाज निर्माणमा सहयोग पुर्‍याउने, थारु झाँकी, कला संस्कृतिहरूको समेत प्रदर्शन लगायतको उद्देश्य रहेको थारु कल्याणकारिणी सभा बेलौरीका अध्यक्ष खडक चौधरीले बताउनु भएको छ । पुस २८ गतेसम्म जारी रहने मेला अवलोकनका लागि प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

    पूर्वमन्त्री बिना मगरले थारु समुदाय र मगर समुदायमा माघी पर्वले ठुलो महत्त्व राख्ने बताउँदै पर्वलाई समुदायको एकता, वृद्धि विकासतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले थारु समुदायको लोक संस्कृति संरक्षणमा जोड दिनुभएको छ । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सबै समुदायले आआफ्ना कला, संस्कृति, लोक परम्परा, भेषभुषालाई संरक्षण गरी सामाजिक एकतालाई थप मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो । बेलौरी नगरपालिका कार्यालय प्रवर्धक रहेको उक्त मेलामा मुख्य प्रयोजक कैलालीको धनगढीमा रहेको नोभा हस्पिटल प्रा.लि. रहेको छ । अन्य दर्जनौँ सङ्घसंस्था तथा व्यापारिक प्रतिष्ठानहरूले प्रायोजकको भूमिका निर्वाह गरेका छन् । सोही मेलाको पहिलो दिन बिहीबार नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट