कञ्चनपुर, १६ मङ्सिर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले शनिबार अपराह्न पुनर्वास नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो ।
भवन उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले तीन वटै तहका सरकारले समन्वय गरेर कार्य गरेमा नागरिकले सहज सेवा पाउने बताउनु भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितीका सभापति दुर्गा दत्त बोहरा ,लगायत जिल्लाका विभिन्न स्थानीय पालिकाका प्रमुख ,उपप्रमुख,प्रमुख जिल्ला अधिकारी ,पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख ,नगर उपप्रमुख ,सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।निर्माण कम्पनी आशिष्-रश्मी जेभीसँग २०७७ मङ्सिर २४ गतेका दिन रु. १ करोड ६९ लाख २२ हजार ४८० रकममा सम्झौता गरिएकोमा २०८० असार ३० गते निर्माण सम्पन्न गरेको निर्माण कम्पनीलाई रु. १ करोड ६२ लाख ८३ हजार २०८ रकम भुक्तानी गरिएको थियो । नगरपालिका र सङ्घीय सरकारको संयुक्त लगानीमा भवन निर्माण गरिएको नगर उपप्रमुख भुलिया कुमारी रानाले जानकारी दिनुभयो ।
भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बताउनु भयो । भवन अपाङ्गतामैत्री, सुविधायुक्त मिनी सभा हल सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस