कञ्चनपुर,०१ असोज। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कञ्चनपुरमा दुई वटा विद्यालय भवनको उद्घाटन गर्नुभएको छ ।शनिबार कञ्चनपुरको बेलौरी नगरपालिका ९ रतनपुरमा रहेको पशुपति शिक्षा मन्दिर र भीमदत्त नगरपालिका १० जिमुवामा रहेको सिद्धनाथ माविका लागि भारत सरकारको आर्थिक सहयोगमा निर्मित भवनहरूको आइतबार साँझ राजदूत श्रीवास्तवले उद्घाटन गर्नुभएको हो । रतनपुरमा आयोजित औपचारिक कार्यक्रमबाटै दुवै विद्यालयका भवनको उद्घाटन गरिएको बताइएको छ । सिद्धनाथ माविको भवन रु. ३ करोड ४९ लाख ९ सय ४५ रकम र पशुपति शिक्षा मन्दिरको भवन रु. ३ करोड ७० हजार रकममा निर्माण भएको हो ।
त्यस क्रममा सम्बोधन गर्दै भारतीय राजदूत श्रीवास्तवले भारत सरकारको अनुदान सहयोगमा नेपालका विभिन्न क्षेत्रमा पाँच सय भन्दा बढी विद्यालयका भवन निर्माण गरिएको बताउँदै आगामी दिनमा पनि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारतको सहयोगमा निर्माण भएका यी संरचनाहरूले नेपालका बालबालिकाहरूको शिक्षामा स्तरोन्नति हुनेमा आफू विश्वस्त रहेको उहाँले भनाइ छ । भारतले नेपाललाई शिक्षा लगायत स्वास्थ्य, खानेपानी, सडक, पुल आदि क्षेत्रमा पनि सहयोग गर्दै आएको उहाँले स्मरण गराउनु भयो । भारत अहिले विश्वको तेस्रो आर्थिक शक्ति भएको राष्ट्रका रूपमा रहेकोले पनि आफ्नो विकाससँगै आफ्ना छिमेकी देशको विकासलाई पनि महत्त्वपूर्ण रूपमा हेरेको उहाँको दाबी छ । भारत सरकारले सुदूरपश्चिममा कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, डडेलधुराको शीर्ष र बैतडीको झुलाघाटमा मोटरेबल पुल बनाउने कुरामा जोड दिँदै राजदूत श्रीवास्तवले नेपाल–भारतबिचको सीमा विवादसमेत कूटनीतिक छलफलबाट समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भारतलाई सहयोगका लागि धन्यवाद दिँदै नेपाल–भारत बिचको सीमा विवादलाई जतिसक्दो छिटो समाधान गर्न आग्रह गर्नुभयो । उहाँले बेलौरी लगायत यहाँका थुप्रै क्षेत्रमा सीमा विवादका कारण बाटो निर्माण हुन नसकेको कुरालाई जोड दिँदै सीमा समस्या छिटोभन्दा छिटो समाधानका लागि समेत पहल गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस