बेलौरी ,२९ असार । हुलाकी सडक अन्तर्गत कञ्चनपुरको बेलौरी बजार नजिकै युवाहरूको समूहले बन्द गरेको बाटोमा यातायात सुचारु गरिएको छ । हुलाकी सडकखण्ड कालोपत्रेको जिम्मेवारी पाएको निर्माण कम्पनीको लापरबाही र बेलौरी नगरपालिकाको उदासीनताको विरोध गर्दै तत्काल सडकमा भएका खाल्डाखुल्डी पुरी ग्राभेल गर्न र गुणस्तरीय कालोपत्रे गर्न माग गर्दै शुक्रबार बेलौरीका युवाहरू आन्दोलित भएका थिए । शुक्रबार बिहान महाकाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दा वडाध्यक्ष भोजराज चौधरीले तत्काल ग्राभेल हाल्ने भनेपछि आन्दोलन स्थगित गरिएको थियो । तर दिउँसोसम्म कुनै सुनुवाइ नभएपछि युवाहरूले सडक किनारमा राखिएको विद्युत् पोललाई सडकमा तेर्साएर पुनः बाटो बन्द गरेका थिए । जसले गर्दा हुलाकी सडक भएर ओहोरदोहोर गर्ने सानाठूला सवारी साधन र आमनागरिकले सास्ती खेप्नुपरेको थियो ।
अबेर साँझ बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीको नेतृत्वमा वडाध्यक्ष, सुरक्षा निकाय, पत्रकार, शिक्षक, समाजसेवी सहित आन्दोलनरत युवाहरूको समूहबिच चार वटा सर्तमा तत्कालका लागि यातायात सुचारु गर्ने सहमति जुटेको छ । उक्त सहमति अनुसार असार ३० गते शनिबार दिउँसोसम्म हुलाकी सडकको ठेक्का पाएको निर्माण कम्पनीले बेलौरी बसपार्कदेखि खैरानासम्मको सडकखण्डमा परेका खाल्डाखुल्डीमा ग्राभेल भरी रोलर लगाई पानी पिच गर्ने छ । यदि निर्माण कम्पनीले उक्त कार्य नगरेमा बेलौरी नगरपालिकाको कार्यालय स्वयंले आफ्नै श्रोत साधन प्रयोग गरेर भए पनि कार्य सम्पन्न गर्ने सहमति गरिएको छ । त्यस्तै, हुलाकी सडकखण्ड कालोपत्रेको लागि निर्माण कम्पनीलाई युवाहरूको समेत सक्रियतामा नगरपालिकाले दबाब सृजना गर्ने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस