बेलौरी, कञ्चनपुर,११ असार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष “लागु औषध रहित परिवार” “स्वस्थ जीवनको आधार” भन्ने राष्ट्रिय नारा तय गरिएको छ । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवसको रूपमा मनाउने गरिन्छ । कञ्चनपुरको बेलौरीमा पनि लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा लागु औषध नियन्त्रण सम्बन्धि जागरण अभियान कार्यक्रमको आयोजना गरिएको छ । सोमबार बैलौरी उद्योग वाणिज्य संघको सभाहलमा उग्रतारा बालबिद्यालय शान्तिपुरको आयोजना र सशस्त्र प्रहरीवल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बेलौरी तथा सशस्त्र प्रहरीवल नेपाल बोर्डर आउट पोष्ट भुडाको सह–आयोजनामा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा उग्रतारा बाल बिद्यालय, सिद्धबावा एकेडेमी र वात्सल्य बिद्या निकेतन बेलौरीका बिद्यार्थी, शिक्षक र कर्मचारीहरुको सहभागितामा लागु औषध नियन्त्रण सम्बन्धि जागरण अभियान कार्यक्रमको आयोजना आयोजना गरिएको हो । सशस्त्र प्रहरी निरीक्षक रमेश अवस्थी र सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र ओझाले कार्यक्रममा लागु औषध दुब्र्यसन, यसको असर, यसबाट बच्ने उपायका बारेमा बिद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।
यस्तै लागु औषध नियन्त्रण तथा जिवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धि पनि जानकारी गराएको छ । उग्रतारा बाल बिद्यालयका प्रिन्सिपल केशव बिष्टले बिद्यार्थीहरुमा जागरण ल्याउन सहयोग गर्नु भएकोमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बेलौरी एवं सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भूडालाई धन्यबाद ज्ञापन गर्नुभएको छ । कार्यक्रममा करिब २०० जना बिद्यार्थी तथा शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आगामी तीन दिनका लागि बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम तय गरिएका छन् । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणा पत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ । विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागु औषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको आँकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस