कञ्चनपुर, १० चैत । कञ्चनपुरको बेलडाँडीमा १५ शय्याको अस्पताल भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्टले अस्पताल निर्माणपछि यस क्षेत्रमा नागरिकहरूले सहजै स्वास्थ्य सेवा पाउने उल्लेख गर्नुभयो । उहाँले समयमै निर्माणकार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । आवश्यक बजेटका लागि सम्बन्धित निकायमा आफ्नो तर्फबाट पूर्णरूपमा पहल गर्ने उहाँको भनाइ छ । यस क्षेत्रको समग्र विकासका लागि आफुले नेतृत्व गरिरहेकोले कुनै पनि समस्याको समाधानका लागि आफू हरपल तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।
शिलान्यास कार्यक्रमको सभापतित्व समेत गर्नु भएका बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले अस्पताल निर्माण भई सेवा सुचारु भएपछि यहाँका गाउँबासीले सामान्य स्वास्थ्योपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने दाबी गर्नुभयो । त्यस्तै, विशिष्ट अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति कञ्चनपुरका उपाध्यक्ष राम कुमारी रानाले निर्माण कम्पनीलाई समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै आफ्नो तर्फ र जिल्ला समन्वय समिति बाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ लगायत वडाध्यक्ष तथा सदस्यहरू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी लगायत कर्मचारीहरू, विभिन्न राजनीति दलका प्रतिनिधिहरू, गाउँबासी सहित पत्रकारहरूको उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले स्वागत मन्तव्य राख्नु भएको थियो । गाउँपालिकाले २०७९ मङ्सिर ६ गते बङलामुखी बैजनाथ जेभि धनगढी कैलालीसँग रु. १६ करोड ५१ लाख ६२ हजार ५ सय २२ भ्याट रकम सहित सम्झौता गरेको थियोे । आगामी दुई वर्षभित्र अस्पतालको भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि छ ।
प्रतिक्रिया दिनुहोस