२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि बेलडाँडीबाट नयाँ रुटको सञ्चालनमा आयो


  • २०७९ फागुन १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ५०४ पाठक संख्या
  • कञ्चनपुर, १७ फागुन । कञ्चनपुरमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि बेलडाँडी गाउपालिकाबाट नयाँ रुट सञ्चालनमा आएको छ । बुधबार बेलडाँडीमा नयाँ रुटको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले समग्र सुदूरपश्चिमको विकासका लागि पर्यटन क्षेत्रको संवर्द्धन, प्रवर्धन गर्न आवश्यक रहेको औँल्याउनु भयो । मुख्यमन्त्री शाहले पर्यटन क्षेत्रलाई समृद्धि र विकासको आधार मानेर प्रदेश सरकारले योजना ल्याउने बताउनु भएको छ । प्रदेश सरकारको तर्फबाट निजी क्षेत्रसँग समेत समन्वय गरी पर्यटन क्षेत्रमा लगानी भित्र्याउन केन्द्रित हुने उहाँको भनाइ छ ।

    कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नम्बर ५ इमलिया हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि नयाँ रुट सञ्चालनमा ल्याइएको छ । सङ्घीय सरकारको निर्णय अनुसार बेलडाँडी गाउँपालिकाले निकुञ्ज प्रवेशका लागि रुट निर्माण गरेको हो । अब दक्षिणी क्षेत्रबाट समेत निकुञ्ज प्रवेशका लागि सहज हुने नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहको भनाइ छ ।

    बेलडाँडी गाउँपालिकाले तत्कालका लागि चौधर नदीमा काठको पुल निर्माण गरी निकुञ्ज भित्र झन्डै डेढ किलोमिटर लामो ट्र्याक खोलेको छ । चौधर नदीमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको भए पनि निर्माण कम्पनीले काम सुरु भने गरेको छैन । अब यथाशीघ्र नदीमा पुल निर्माणको कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई ताकेता गरिने बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताउनु भयो ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकन गर्न जानेहरूका लागि हालसम्म मझगाउँमा एक मात्र प्रवेशद्वार चलनमा थियो । त्यसको विकल्पमा बेलडाँडीबाट समेत प्रवेश रुट सञ्चालनमा ल्याइएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मुख्य फाँटा र त्यहाँ देख्न सकिने वन्यजन्तुहरू तथा मनोहर दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक दक्षिणबाट भित्र्याउन सके यहाँको पर्यटनले फट्को मार्ने अपेक्षा गरिएको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट