२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु


  • २०७९ फागुन १, सोमबार मा प्रकाशित २ साल अघि
  • ३२७ पाठक संख्या
  • महेन्द्रनगर , ०१ फागुन । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबारदेखि महेन्द्रनगरमा आयोजना गरिएको १४औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा सरकार केन्द्रित भएको समेत उल्लेख गर्नुभयो । उहाँले विकास र सामाजिक न्यायमा पछि परेका क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनु हुँदै आफ्नो तेस्रो कार्यकालका विकासे योजनाहरू सुदूरपश्चिम प्रदेशबाटै थालनी गरिरहेको सुनाउनु भयो । उहाँले सुदूरपश्चिमको समग्र विकासमा प्रतिबद्धता समेत जनाउनु भएको छ ।

    प्रधानमन्त्री दाहालले सोमबार नै कञ्चनपुरको दोधारा चाँदनी स्थित प्रस्तावित सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको स्थलगत अनुगमन गर्नु भएको छ । सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भएर स्वीकृतिको चरणमा रहेको र यस लगत्तै बन्दरगाह निर्माण हुने क्षेत्र खाली गरेर आवश्यक संरचना निर्माणको कामलाई द्रुतगति दिइने उहाँको भनाइ छ । निकट भविष्यमा आफूले गर्ने भारत भ्रमणका क्रममा समेत यी विषय प्राथमिकतामा राख्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

    प्रधानमन्त्री दाहालको कञ्चनपुर भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी, सहित प्रतिनिधि सभा र प्रदेश सभाका वर्तमान तथा पूर्व सांसदहरू, सरकारका मुख्य सचिव, स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधि लगायतको समेत सहभागिता रहेको थियो ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहालले सोमबार नै जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा आयोजना गरेको कार्यक्रमलाई समेत सम्बोधन गर्नु भएको थियो । त्यसकै प्रारूपमा सरकारले जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको उहाँको भनाइ छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट