बेलौरी २७ माघ । कञ्चनपुरको बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु भएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार; समृद्धको बेलौरी आधार’ भन्ने मूल नाराका साथ बेलौरी उद्योग वाणिज्य संघको आयोजना एवं बेलौरी नगरपालिकाको सह आयोजनामा बिहीबारदेखि बेलौरीको खुलामञ्चमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु भएको हो ।
बेलौरी बजार स्थापनाको ५०औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित महोत्सवको एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नु भएको छ । महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले बेलौरी भन्सार नाका स्तरोन्नतिका लागि पहल गर्ने बताउनु भएको छ । कञ्चनपुरकै दोधाराचाँदनीमा बन्ने सुख्खा बन्दरगाह निर्माणमा समेत जोड दिँदै उहाँले सुख्खा बन्दरगाह निर्माण भए नेपालमा उत्पादित बस्तु तथा सेवा निर्यात र बाह्य मुलुकबाट आयातका लागि सहज हुने उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले नेपाल-भारत पारवहनको विषयमा समेत पहल गर्ने आश्वासन दिनुभएको छ ।
बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले कञ्चनपुरको दक्षिणी क्षेत्रको आर्थिक, कृषि, औद्योगिक र व्यावसायिक विकासका लागि महोत्सव आयोजना गरिएको उल्लेख गर्दै यहाँको समग्र विकासका लागि बेलौरी भन्सार नाका स्तरोन्नति गरी पुनः सञ्चालनका लागि उद्योग मन्त्री भण्डारी मार्फत अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो । महोत्सव फागुन ७ गतेसम्म सञ्चालन गरिने छ । यस अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने सांस्कृतिक समितिका संयोजक यज्ञ प्रसाद कँडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस