२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

चौतर्फी दबाब पछि बेलौरीमा सूचना अधिकारी नियुक्त


  • २०७९ पौष २५, सोमबार मा प्रकाशित १ साल अघि
  • ६०६ पाठक संख्या
  • कञ्चनपुर, २५ पुस । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयले चौतर्फी दबाबपछि सोमबार सूचना अधिकारी नियुक्त गरेको छ । बेलौरी नगरपालिका कार्यालयमा कार्यरत सूचना प्रविधि अधिकृत हरि प्रसाद बोहरालाई सूचना अधिकारी नियुक्त गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकले जानकारी दिनुभएको छ । सूचना अधिकारी नियुक्त भए लगत्तै बोहरालाई बेलौरीमा क्रियाशील पाँच जना पत्रकारहरूको समूहले सार्वजनिक सरोकारका विषयसँग सम्बन्धित अध्ययन तथा रिपोर्टिङ प्रयोजनका लागि सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भन्ने बारे सात बुँदे संयुक्त निवेदन पेस गरेको छ ।

    यसअघि असोज यता बेलौरी नगरपालिकामा सूचना अधिकारीको व्यवस्था नहुँदा निवेदकहरूलाई असुविधा हुने गरेको थियो । बेलौरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनु भएका नर बहादुर विकले असोज महिनामा कार्यभार सम्हाले यता बेलौरी नगरपालिका कार्यालयको सूचना अधिकारी को हो भन्ने विषयमा अनविज्ञता देखिएको थियो । कुनै पनि नागरिकले सार्वजनिक सरोकारका विषयमा कार्यालयबाट सूचना माग गर्दा सम्बन्धित फाँट हेर्ने अधिकारी नै नभएपछि थप अन्यौलता सृजना भएको थियो । बेलौरी नगरपालिका कार्यालयमा सूचना अधिकारीको व्यवस्था भएसँगै आम नागरिकले आफ्नो र सार्वजनिक सरोकारका विषयमा सूचना तथा विवरण माग गर्न सक्ने बाटो खुलेको छ ।

    नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्यको धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ । उक्त धारामा “प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । तर कानुन बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन ।” भनी उल्लेख गरिएको छ । राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले व्यवस्थापिका–संसद्ले सूचनाको हक सम्बन्धी ऐन, २०६४ समेत बनाएको छ ।

    सूचनाको हक सम्बन्धी ऐन, २०६४ को परिच्छेद २ सूचनाको हक र सूचना प्रवाह सम्बन्धी व्यवस्थाको दफा १ ले समेत प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने कुरा स्पष्ट पारेको छ । ऐनको दफा ६ मा हरेक सार्वजनिक निकायमा ऐन बमोजिम कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गरेको हुनु पर्नेछ भनिएको छ । सूचना प्रवाह गर्ने प्रयोजनका लागि कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रूपमा सूचना अधिकारीलाई उपलब्ध हुने व्यवस्था गराउनु पर्ने छ भनी उल्लेख भएकोले कार्यालय सम्बन्धी सबै सूचनाहरू प्राप्त गर्नका लागि आवश्यक व्यवस्था, संयन्त्र मिलाउने कार्य समेत सूचना अधिकारीको कार्यालय प्रमुखसँग समन्वय गरी मिलाउने कार्य जिम्मेवारीभित्र पर्दछ । यसका लागि ऐनको दफा ६ को उपदफा (३) मा उल्लेख भए बमोजिम अलग सूचना शाखाको समेत व्यवस्था गर्न सक्ने व्यवस्था छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट