धनबहादुर बिक ,पुनर्वास १९ पौष कञ्चनपुर जिल्ला को पुनर्वास नगरपालिका ५ प्रगति चोक मा नवनिर्मित कालोपत्रे सडकको सोमबार नगरपालिका बाट अनुगमन गरिएको छ । पुनर्वास नगर उप प्रमुख भुलिया कुमारी रानाको अगुवाइमा गरिएको अनुगमनका क्रममा नवनिर्मित कालोपत्रे बाटो गुणस्तरीय नभएको स्थानीयले गुनासो गरेका छन । पुनर्वास नगरपालिका २ मा रहेको दाउत निर्माण सेवा कम्पनीले हालै मात्र सम्पन्न गरेको उक्त कालोपत्रे बाटो को नगर उप प्रमुख भुलिया कुमारी रानाले स्थलगत अनुगमन गर्नुभएको हो । गत आर्थिक बर्षको बिनियोजित बजेटको २५ लाख रकममा दुई साता अघि मात्र सम्पन्न गरिएको कालोपत्रे सडक मा कमसल मसाला का कारण अहिलेदेखि नै मसिनो गिट्टी उम्किन सुरु भएको छ भने कतिपय स्थानमा थप टालटुल गरि निर्माण गरिएको छ ।नवनिर्मित कालोपत्रे सडक सन्तोषजनक निर्माण नभएको पुनर्वास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर रोकायाले बताए । ठुला सवारीसाधन तथा भारवाहन साधन ले थेग्न नसक्ने कमसल काम भएको अध्यक्ष रोकायाले दावि गरेका छन ।
कतिपय स्थानमा थप टालटुल गरि पोतने काम समेत गरिएको स्थानीय चेतराज कापडी ले बताएका छन ।
वडा नम्बर ५ का पुर्व अध्यक्ष बिरबहादुर बोगटीले पनि कालोपत्रे सडक गुणस्तर नभएको बताएका छन ।सडकको केही भागमा सन्तोषजनक रहेपनि केही भागमा झाला टार्ने काम भएको बोगटी बताउँछन् अलकत्रा को मात्रा कम भएको निर्माणका क्रममा पटकपटक भनिरहदा सडकमा काम गर्ने कामदारले अटेर गरेको उनले भने । ठेकेदारले जस्तो भन्छ सोही अनुसार हामीले कनम गर्ने हो कामदार ले भनेको बोगटीले अवगत गराए ।
निर्माण कम्पनी ले समझौता अनुसार सडक निर्माण को सूचना पाटि समेत राखेको छैन । सहमति अनुसार सडक निर्माण सुरु गर्नुअघि नै सूचना पाटि राखिनुपर्ने पुनर्वास नगरपालिका का प्राविधिक लालमन तामाङले बताए ।२८० मिटर लम्बाइ तथा साडे पाँच मिटर चौडाइ रहेको सडक मापदण्डअनुसार बनेपनि निर्माण कम्पनी ले गुणस्तरीय काम नगरेको स्थलगत अनुगमन गर्दै नगर उप प्रमुख रानाले जानकारी दिनुभयो ।
गुणस्तरीय काम नभएको भनी स्थानीयले गुनासो गरेको उक्त बाटोमा ठेकेदार कम्पनी ले पुन मर्मत नगरिए समझौताअनुसारको बाँकी रकम भुक्तानी मा रोक लगाईने नगर उप प्रमुख भुलिया कुमारी रानाले बताउनुभयो ।
पुनर्वास नगरपालिका नगर उप प्रमुख भुलिया कुमारी राना , प्राविधिक टिम , वडा जनप्रतिनिधि , स्थानीय समाजसेवी पत्रकार लगायतको टिमले सयुंक्तरूपमा सडकको अनुगमन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस