२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनालाई कडाइका साथ निगरानी


  • २०७९ कार्तिक २०, आईतबार मा प्रकाशित २ साल अघि
  • १६७ पाठक संख्या
  • दिनेशराज ओझा, कञ्चनपुर, २० कार्तिक । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार शाहले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनालाई कडाइका साथ निगरानी गरिरहेको बताउनु भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको आयोजनामा आइतबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक मिडिया अभिमुखीकरण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शाहले आचारसंहिता कडा कानुन भन्दा पनि नैतिक आधारमा पालना गर्नुपर्ने पक्ष भएकोले सम्बन्धित सबै स्वनियमनमा बस्नुपर्ने उल्लेख गर्नुभयो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले आचारसंहिता पालनाकै विषयमा सर्वदलीय सर्वपक्षीय बैठक बसेर राजनीतिक दल तथा उम्मेदवारहरूलाई पटक–पटक सचेत गराएको जानकारी दिनुभयो । पटक पटक सचेत गराउँदा पनि आचारसंहिता पालना नगर्ने दल तथा उम्मेदवारको उम्मेदवारीसमेत रद्द गर्न सक्ने अधिकार आयोगसँग सुरक्षित रहेकोले सचेत हुन सबैलाई उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले कतैबाट निर्वाचनलाई भाँड्न सक्ने खालको अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकाय सतर्क रहेको समेत जानकारी गराउनु भयो ।

    उहाँले निर्वाचनमा सञ्चारमाध्यमको भूमिका र निर्वाचन गतिविधिका बारेमा र नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाका अध्यक्ष माधव धामीले पत्रकार आचारसंहिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सञ्चारमाध्यमबाट आचारसंहिता उलङ्घन हुन नदिन आफूहरू सचेत रहेको तर केही सञ्चारमाध्यमले पटक पटक आचारसंहिता उलङ्घन गर्दा समेत कारबाही नहुनु आश्चर्यजनक रहेको धारणा राख्नुभएको छ । सबै प्रकारका स्थानीय सञ्चारमाध्यमहरूको भरपुर उपयोग गरी मतदाता शिक्षादेखि आवश्यक सबै सूचना सन्देश प्रवाह गर्न, मतदानको समयमा सहजै रिपोर्टिङ गर्न सक्ने प्रबन्ध मिलाउन र मत परिणाम आउने क्रममा छिटो, छरितो तथा विश्वसनीय विवरण उपलब्ध गराउने संयन्त्र तयार गर्न आयोग र कार्यालयलाई अनुरोध गर्नु भएको छ । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशी, तथ्याङ्क कार्यालय कञ्चनपुरका प्रमुख नीरज ओझा लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट