
माधव पौडेल, ०२ असार। कञ्चनपुरको शुक्लाफाँटा नगपालिकामा सार्वजनिक सेवा प्रवाह, सूचना व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सञ्चार माध्यमको प्रभावकारी भूमिकाबारे जानकारी गराउने उद्देश्यले मंगलबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख रण बहादुर महरा, अतिथि नगर उपप्रमुख कल्पना कुमारी जोशी,प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट,नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी,वरिष्ठ पत्रकार तथा प्रशिक्षक चित्रांक थापा सहित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत विष्टले सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी, जवाफदेही रक्यु नागरिकमैत्री बनाउन सञ्चार माध्यमसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सूचना व्यवस्थापन विषयमा आमनागरिकलाई सुसूचित गराउन सञ्चार क्षेत्रको भूमिका प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै नगर प्रमुख महराले नागरिकलाई समयमै सही सूचना प्रवाह गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले विपद्को पूर्वतयारी, उद्धार तथा पुनःस्थापनाका क्रममा सञ्चार माध्यमले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै तथ्यपरक र जिम्मेवार पत्रकारिताले जनचेतना अभिवृद्धिमा टेवा पुर्याउने धारणा राख्नुभयो।
अभिमुखीकरणमा प्रशिक्षक चित्रांक थापाले सार्वजनिक सेवा, सूचना व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणमा सञ्चार माध्यमको भूमिका, जिम्मेवार समाचार सम्प्रेषण, सूचना प्रवाहका चुनौती र अवसरलगायत विषयमा सहजीकरण गर्नुभएको थियो।
सहभागी पत्रकारहरूले स्थानीय तह र सञ्चार क्षेत्रबीचको सहकार्यले सुशासन प्रवर्द्धन, सूचना पहुँच विस्तार तथा विपद्का समयमा प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस