माधब पौडेल, ०३असार। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ र ६ मा सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना तथा बेलौरी नगरपालिका कार्यालयको समन्वयमा मंगलबार सिकलसेल एनिमिया रोग सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर २का वडाध्यक्ष कलविर चौधरी,सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टको प्रमुख आतिथ्यतामा आयोजित पैरवी कार्यक्रम बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको बी पी स्मृति आधारभूत विद्यालय चारघरुवामा स्थानिय जनप्रतिनिधि,वडा सचिव, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी,बुद्धिजीवी लगायत सञ्चारकर्मीहरुको उपस्थितिमा सिकलसेल र थालेसिमिया एनिमिया रोगको जानकारी,रोगका लक्षण,उपचार, बच्ने उपाय र रोगथामको विषयमा जानकारी गराइएको थियो। जनस्वास्थ्य समस्याका कारण थारु समुदायमा बढी लाग्ने रोगको रुपमा देखिएको छ। सिकलसेल रोग पत्ता लगाउन रगत परीक्षणबाट रोग लागे नलागेको थाहा पाउन सकिन्छ।
सुदुर पश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को विनियोजित रकमबाट असार ५ गते बी पी स्मृति आधारभूत विद्यालय चारघरुवामा निःशुल्क सिकलसेल एनिमिया सम्बन्धी एकदिने शिविरको आयोजना गरिने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले प्रदेश सरकारले यस रोगलाई चासोको रुपमा लिएको बताउँदै बेलौरी नगरपालिकामा असार ५ गतेदेखि पालिकामा विभिन्न वडामा चेकजाँच शिविरको आयोजना गरिएको बताउनुभयो। आर्थिक वर्ष २०८१/०८२ मा सिकलसेल एनिमिया चेकजाँच शिविरका लागि बेलडाँडी गाउँपालिकालाई २०लाख र बेलौरी नगरपालिकालाई १०लाख रुपैयाँ विनियोजित गरिएको बताउनुभयो। शिविरमा स्वास्थ्य जाँच गराउन हुन आग्रह गर्नुभयो। आर्थिक वर्ष २०८२/०८३ मा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी चेकजाँचका लागि आवश्यक बजेट विनियोजित गरेको बताउनुभयो।कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले आफ्नो वडामा सिकलसेल एनिमियाको शिविरका लागि आवश्यक बजेट विनियोजित गर्नुभएकोमा प्रदेश सभा विष्टलाई धन्यबाद ज्ञापन गर्दै शिविरमा सहभागी भई स्वास्थ्य जाँच गराउनुहुन आह्वान गर्नुभएको छ। मंगलबार नै बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको महाकाली माध्यमिक विद्यालय विद्यानगरमा समेत पैरवी कार्यक्रम को आयोजना गरिएको छ।


प्रतिक्रिया दिनुहोस