माधब पौडेल,२३ माघ। निर्वाचन कार्यालय कञ्चनपुर क्षेत्र नं. १ को आयोजनामा शुक्रबार उम्मेदवार, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीबीच निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला निर्वाचन अधिकारी हरिश्चन्द्र जोशीले निर्वाचन आचारसंहिताका मुख्य प्रावधान, पालना गर्नुपर्ने विषयमा जानकारी दिँदै उल्लङ्घन भएमा कार्वाही स्वरूप,दण्ड जरिवाना र उमेदवारी खारेजी गरिन सकिने समेत बताउनुभयो।
निर्वाचन अनुगमन समितिका सदस्य तथा कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका प्रमुख कृष्णबहादुर धामीले उम्मेदवारहरूले निर्वाचन आयोगले तोकेको खर्च सीमाभित्र रही निर्वाचन अवधिभरको आय–व्यय विवरण राख्न छुट्टै बैंक खाता संचालन गरी खर्च गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमको अध्यक्षता निर्वाचन अधिकृत दामोदर घिमिरे, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी,प्रमुख जिल्ला अधिकारी मदन कुमार कोइराला, नगर उप प्रमुख जोग राम चौधरी,जिल्ला निर्वाचन अधिकारी हरिशचन्द्र जोशी,कोष लेखा नियन्त्रक कार्यालयका कंचनपुर प्रमुख कृष्णबहादुर धामी, जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्री,सशस्त्र प्रहरी शैलेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाशराज सिग्देल,सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कुमार कोईरालाले आगामी निर्वाचनलाई भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै निर्वाचन अवधिभर शान्ति–सुरक्षाको सुव्यवस्था गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो।
निर्वाचन अधिकृत दामोदर घिमिरेले निर्वाचन आचारसंहिताको पूर्ण पालना सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्दै जिम्मेवार र मर्यादित ढंगले निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो।सहभागीहरूले निर्वाचन अवधिमा प्रचार–प्रसार, सञ्चार माध्यम तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, खर्च व्यवस्थापन र शान्ति–सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस