कञ्चनपुर, ०३ मंसिर । कञ्चनपुर क्षेत्र नम्बर १ मा पनि निर्वाचनको तयारी पूरा भएको छ । आइतबार हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्यक्रमका लागि सबै मतदान केन्द्रहरूमा आवश्यक सामग्री पठाई मतदान केन्द्रहरूमा समेत सम्पूर्ण तयारी पूरा गरिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शनिबार अपरान्ह निर्वाचन अधिकृतको कार्यालय बेलौरीमा आयोजित पत्रकार भेटघाटका क्रममा निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले निर्वाचनको तयारी पूरा भएको जानकारी दिनुभयो ।

निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिएको उहाँले बताउनु भयो । मतदाताले सुरक्षित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । यसै क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल सहित जिल्ला सुरक्षा समितिको टोलीले निर्वाचन अधिकृतको कार्यालय, मतगणना स्थल, मतदान स्थल र केन्द्र तथा सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।
प्रतिक्रिया दिनुहोस