किशोर तामाङ, ०८ माघ।उज्यालो नेपाल पार्टीका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार माईकल तामाङले निर्वाचन कार्यालय बेलौरीमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्तापछि आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा उनले पत्रकारहरूसँग आफ्ना चुनावी एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

उम्मेदवार तामाङले देशमा लामो समयदेखि पुराना राजनीतिक दलहरूलाई बाजे–बज्यैदेखि आमा–बुबा हुँदै नाति–नातिनीसम्मले पटक–पटक मत दिएर संसद् पठाउँदै आए पनि केही हदसम्म व्यवस्था परिवर्तन भएबाहेक गरिब, दिनदुःखी र आम नागरिकको जीवनस्तरमा ठोस सुधार नआएको आरोप लगाए। अब व्यवस्था मात्र होइन, जनताको अवस्था परिवर्तन गर्ने जिम्मेवारी युवापुस्ताको काँधमा आएको उनको भनाइ थियो।
मतदातासमक्ष एकपटक विश्वास गरेर आफ्नो अमूल्य मत दिन आग्रह गर्दै भने, “एकचोटि विश्वास गरेर मत दिनुहोला, तपाईंहरूको मतको उच्च कदर हुनेछ।” निर्वाचित भएमा जनताको भावना, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
तामाङका अनुसार शिक्षा, स्वास्थ्य, स्वरोजगार र पूर्वाधार विकास उनका प्रमुख प्राथमिकता रहनेछन्। “क्षेत्रका विद्यालयहरूको गुणस्तर सुधार, स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्ने, युवाहरूका लागि स्वरोजगारका अवसर सिर्जना गर्ने तथा आवश्यक पूर्वाधार निर्माणमा म दिनरात नभनी तपाईंहरूको सेवामा समर्पित हुनेछु। देशको राजनीतिमा लामो समयदेखि व्याप्त भ्रष्टाचार, विकृति र विसंगतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै अब इमानदार, पारदर्शी र जवाफदेही नेतृत्व अपरिहार्य भइसकेको उल्लेख गरे। उज्यालो नेपाल पार्टीले सुशासनलाई मूल आधार बनाएर यस्ता समस्या समाधानतर्फ दृढतापूर्वक अघि बढ्ने तामाङको दाबी छ।
उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘चिम’ रहेको स्मरण गराउँदै उनले चिमले अन्धकार चिर्दै उज्यालो फैलाएझैँ पार्टीले नेपाली राजनीतिमा आशा, भरोसा र सकारात्मक परिवर्तनको उज्यालो किरण फैलाउने विश्वास व्यक्त गरे। पार्टी जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्ने र समाधानका लागि निरन्तर संघर्ष गर्ने उनको भनाइ छ।स्थानीय मतदाताहरूमा नयाँ राजनीतिक शक्ति र वैकल्पिक नेतृत्वप्रति चासो बढिरहेको बेला माईकल तामाङको उम्मेदवारीले कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ को चुनावी माहोल थप चर्चित र प्रतिस्पर्धात्मक बनेको छ।
प्रतिक्रिया दिनुहोस