माधब पौडेल,२१जेष्ठ।कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयको आयोजनामा जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा बुधबार एक कार्यक्रमका बीच दलित विद्यार्थीहरुलाई छात्रवृत्ति,झोला तथा स्टेशनरी वितरण गरिएको छ।कार्यक्रममा सामुदायिक विद्यालयबाट आधारभूत तह कक्षा आठमा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा,कक्षा १ मा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री सहित झोला वितरण गरिएको र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति बापत महाकाली बहुमुखी क्याम्पसलाई एक लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो।पालिकाबाट बाहिर गई अध्ययरत विद्यार्थीहरुलाई जनही १० हजारका दरले नगद रकम र एकजना युवा उद्यमीलाई सैलुन सम्बन्धी सामग्री प्रदान गरिएको थियो।
कार्यक्रममा सभापति बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भुल, प्रमुख अतिथि बेलौरी नगरपालिकाका पोतिलाल चौधरी, विशिष्ठ अतिथि बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी,अतिथिमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऐरी,बेलौरी नगरपालिकाका वडा नम्बर २का वडाध्यक्ष कलविर चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष लाल बहादुर चौधरी,बेलौरी नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाका निमित्त शाखा प्रमुख अमित प्रसाद भट्टको सहभागिता रहेको थियो।
कार्यक्रमका विशिष्ट अतिथि नगर उपप्रमुख जोगराम चौधरीले जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको शुभकामना व्यक्त गर्दै यस कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका,दलित समुदायका विद्यार्थीहरुलाई थप प्रोत्साहन हुने बताउनुभयो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख पोतिलाल चौधरीले शिक्षा क्षेत्रमा पालिकाको आवश्यक सहयोग गर्दै आइरहेको बताउँदै आफू निर्वाचित भएर आएको दोस्रो नगर सभाबाट बेलौरी नगरपालिकालाई जातिय भेदभाव तथा छुवाछुत उन्मूलन नगरपालिका घोषणा गरेको बताउनुभयो। पालिकाले सबै समुदायका बिधार्थीहरुलाई शैक्षिक गुणस्तर, क्षमता अभिवद्धिका लागि आवश्यक बजेट विनियोजित गरेको बताउनुभयो।
कार्यक्रममा बोल्दै सभापति हर्क बहादुर भुलको आज जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा पालिकाको तर्फबाट जेहेन्दार, विपन्न र उत्कृष्ट नतिजा ल्याउने दलित विद्यार्थीहरुलाई स्टेशनरी र उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको बताउँदै यस कार्यले अन्य विद्यार्थीहरुमा पढाई लेखाइमा थप रुचि जाग्ने बताउनुभयो।लामो समयदेखि राज्यको हरेको परिवर्तन दलित परिवारका सदस्यले ज्यान गुमाएका समेत बताउनुभयो। शैक्षिक क्रान्तिमा जुट्न आवस्यक रहेको बताउनुभयो।आर्थिक अवस्थाको कमजोरीको हिसाबले वञ्चित नहुने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस