२०८२ अषाढ १०, मंगलबार | Tue, 24, Jun, 2025

बेलौरीमा विपन्न कृषकलाई जीविकोपार्जनका लागि बाख्रा वितरण 


  • २०८२ जेष्ठ १८, आईतबार मा प्रकाशित ३ हफ्ता अघि
  • २८१ पाठक संख्या
  • माधव पौडेल/ हरिश्चन्द्र बाग ,कञ्चनपुर, १८ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ र ९ का विपन्न कृषकहरूले अब आफ्नो जीविकोपार्जन बाख्रापालनमार्फत अघि बढाउने छन् । निड्स नेपालले बिएमजेड केकेएस जर्मनीको आर्थिक सहयोगमा २० जना कृषकलाई नि:शुल्क बाख्रा वितरण गरेको हो । बेलौरी नगरपालिका वडा नम्बर ५ का ८ वटा समूहबाट १० जना र वडा नम्बर ९ का ७ वटा समूहबाट १० जना गरी कुल २० जना कृषकलाई प्रतिकिसान २ वटाका दरले बाख्रा वितरण गरिएको निड्स नेपालका परियोजना संयोजक मिनबहादुर हुड्केले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमले विशेष गरी विपन्न र आयआर्जनको स्रोत कमजोर भएका किसान परिवारको आर्थिक जीवनशैलीमा सुधार ल्याउने लक्ष्य राखिएको छ ।कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले निड्स नेपालप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “नयाँ बाख्राले किसानको घरमै आम्दानीको स्रोत विकास गर्छ भन्ने हाम्रो विश्वास छ । स्थानीय सरकार कृषि पेशालाई व्यवसायिक बनाउन सधैँ सहयोगी छ ।” निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले भन्नुभयो, “हामी बाख्रासँगै जिम्मेवारी पनि दिइरहेका छौँ । उचित हेरचाह, पशुचिकित्सा सेवा र तालिम पनि हाम्रो योजना भित्र पर्दछ । यो आत्मनिर्भर बन्ने यात्राको सुरुवात हो ।” निड्स नेपालले निकट भविष्यमा पशुचिकित्सा शिविर, तालिम कार्यक्रम र अनुगमन प्रणालीमार्फत वितरण गरिएका बाख्राको प्रभावकारिता सुनिश्चित गर्ने योजना बनाएको अध्यक्ष खरेलले सुनाउनुभयो ।वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर चौधरीले बाख्रा वितरण कार्यक्रमले किसानको मनोबल बढाएको बताउनुभयो । वडा नम्बर ९ का वडा सदस्य मोति सुनारले समावेशी र परिणाममुखी विकासका लागि यस्ता कार्यक्रमले निकै सहयोग पुर्‍याउने धारणा राख्नुभयो । बाख्रा प्राप्त गरेका कृषकहरू पनि खुसी देखिन्छन् । प्राप्त बाख्राको राम्रोसँग पालनपोषण गरेर आफ्नो जिविकोपार्जनमा सुधार ल्याउने किसानहरूको भनाइ छ । यस कार्यक्रमबाट कृषकले आर्थिक सशक्तिकरण मात्र नभई पशुपालनप्रति सीप विकास, आत्मनिर्भरता, पोषण सुरक्षा र स्थानीय बजारमा आपूर्ति वृद्धि जस्ता सकारात्मक प्रभावहरू देखिने अपेक्षा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट