पुनर्वास ,०२ भाद्र । कञ्चनपुरको पुनर्वास नगरपालिका ९ स्थित प्यारातालमा पर्यटन प्रवर्द्धनका लागि नागरिक लगानीमा तालको जैविकता झल्काउन प्रतिमा निर्माणको शनिवार शिलान्यास गरिएको छ ।
८५ वर्षिय जेष्ठ नागरिक धनबहादुर रोकायाले शनिवार ताल परिसरमा निर्माण गरिन लागेको माछाको प्रतिमाको शिलान्यास गर्नु भएको हो ।तालको जैविक विविधता झल्काउने संरचना निर्माण गरि पयर्टन बिकास गर्नका लागि नागरिक स्तरबाट अभियान संचालन गरिएको थियो ।
नागरिकहरुबाट स्वस्फुर्त रुपमा संकलन गरिएको आर्थिक सहयोगबाट ताल परिसरमा जैविक विविधता झलाउने जैविक उद्यान निर्माण गर्ने उद्देश्य रहेको प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र कुमार बस्नेतले बताए ।तालको जैविक महत्व लाई प्रदर्शन गर्दै पर्यटन बिकासका लागि ताल क्षेत्रको वनस्पति संरक्षण र जीवहरुको प्रतिमा स्थापना गरि संरक्षण अभियान संगसंगै पर्यटन बिकास गर्न नागरिक अभियान सुरु गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो।
एक महिना अघि देखि सुरु गरिएको अभियान बाट १ लाख ३२ हजार १८२ रुपैया समितिको खातामा संकलन भएको सचिव प्रेम प्रसाद जैसीले बताउनुभयो।ताल परिसरमा निर्माण सुरु गरिएको माछाको प्रतिमा निर्माणका लागि २ लाख ६ हजार बराबरको लागत स्टिमेट रहेको सचिव जैसीले जानकारी दिनुभयो ।
तालमा पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट सुरु गरिएको यो अभियान पुनर्वासमा पहिलो भएको स्थानीयहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस