२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

तत्कालीन सूचना अधिकारी बोहराले छोडेपछि बेलौरी नगरपालिकाले तोक्न सकेन सूचना अधिकारी


  • २०८० जेष्ठ ३२, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६७८ पाठक संख्या
  • कञ्चनपुर, ३२ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा गतबर्ष चौतर्फी बिरोध भएपछि २०७९ पौष २५ गते सूचना प्रविधि अधिकृत हरि प्रसाद बोहरालाई सूचना अधिकारी नियुक्त गरिएको थियो । बोहराले केही महिना अगाडि सूचना प्रबिधि अधिकारी बाट राजीनामा दिएर गएपछि पुनः बेलौरी नगरपालिका कार्यालयमा सूचना अधिकारी बिहिन भएको छ।

    नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्यको धारा २७ मा सूचनाको हकको व्यवस्था गरिएको छ । उक्त धारामा “प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । तर कानुन बमोजिम गोप्य राख्नु पर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन ।” भनी उल्लेख गरिएको छ ।

    राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले व्यवस्थापिका–संसद्ले सूचनाको हक सम्बन्धी ऐन, २०६४ समेत बनाएको छ ।

    सूचनाको हक सम्बन्धी ऐन, २०६४ को परिच्छेद २ सूचनाको हक र सूचना प्रवाह सम्बन्धी व्यवस्थाको दफा १ ले समेत प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने कुरा स्पष्ट पारेको छ । ऐनको दफा ६ मा हरेक सार्वजनिक निकायमा ऐन बमोजिम कार्यालयमा रहेको सूचना प्रवाह गर्ने प्रयोजनका लागि सूचना अधिकारीको व्यवस्था गरेको हुनु पर्नेछ भनिएको छ । सूचना प्रवाह गर्ने प्रयोजनका लागि कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको सूचना नियमित रूपमा सूचना अधिकारीलाई उपलब्ध हुने व्यवस्था गराउनु पर्ने छ भनी उल्लेख भएकोले कार्यालय सम्बन्धी सबै सूचनाहरू प्राप्त गर्नका लागि आवश्यक व्यवस्था, संयन्त्र मिलाउने कार्य समेत सूचना अधिकारीको कार्यालय प्रमुखसँग समन्वय गरी मिलाउने कार्य जिम्मेवारीभित्र पर्दछ । यसका लागि ऐनको दफा ६ को उपदफा (३) मा उल्लेख भए बमोजिम अलग सूचना शाखाको समेत व्यवस्था गर्न सक्ने व्यवस्था छ ।

    नेपालको संविधानले मौलिक हक र कर्तव्यका रूपमा व्यवस्था गरेको सूचनाको हक माग्न आउने जो कोही नागरिकले पनि सूचना अधिकारीबाट पाउनु पर्ने सूचना माग गर्न नसक्ने अवस्था रहेको छ । ऐन बमोजिम हरेक सार्वजनिक निकायले आफ्नो कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरेकै हुनुपर्छ । तर बेलौरी नगरपालिका कार्यालयमा नयाँ सूचना अधिकारीको व्यवस्था गरिएको छैन भने सूचनाको हक सम्बन्धि निवेदन कसलाई पेस गर्ने भन्ने जनमानसमाअन्योलमा छन।

    केही स्थानीय तहहरूमा सूचना अधिकारी नतोकेको थाहा पाएपछि गत वर्ष असार ११ गतेका दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरूलाई पत्राचार गर्दै अविलम्ब सूचना अधिकारी तोकी आफ्नो कार्यालयको आधिकारिक वेबसाइटमा राख्ने व्यवस्था गर्न आदेश समेत दिएको थियो । तर, कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा सूचना प्रविधि अधिकृत बोहरा गएपछि सूचना अधिकारीको व्यवस्था नै गरिएको छैन।यस विषयमा जानकारी लिदा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले छलफल हुँदैछ। छिट्टै हामी सूचना अधिकारी तोक्ने बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट