कञ्चनपुर, ०९ पुस । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ रतनपुरमा रहेको सिद्धनाथ मन्दिर तथा कालिका मन्दिर परिसर घेरबार कार्य अन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्गतर्फ जाली जडान कार्य सम्पन्न गरिएको छ । मन्दिर घेरबार निर्माण समितिका अध्यक्ष बलदेव भट्टले लामो समयपछि मन्दिर क्षेत्रमा घेरबार गरिएको बताउनु भयो । अध्यक्ष भट्टका अनुसार विगतमा विवादका कारण घेरबार निर्माण कार्यमा ढिलाइ भएको थियो । अहिले स्थानीय नागरिकहरूको पूर्ण सहयोगमा हुलाकी सडक तर्फको क्षेत्रमा निर्माण कार्य सम्पन्न भएको उहाँको भनाइ छ ।
स्थानीय भक्तजनहरूको आर्थिक सहयोगमा मन्दिर परिसरमा घेरबार गरिएको हो । उक्त कार्यमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय बेलडाँडी लगायत स्थानीय बासिन्दा र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबै निकाय प्रति निर्माण समितिले कृतज्ञता ज्ञापन गरेको छ । विगतमा ६ महिनासम्म मन्दिर आसपास रहेका केही व्यक्तिहरूको अवरोधका कारण घेरबार गर्न नसकिएको र थुप्रै पटक अड्डा धाउँदा धाउँदा अन्ततः जिल्ला प्रशासन कार्यालयको निर्देशन पछि घेरबार गर्न दिने सहमति भएको थियो । त्यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा दबाबका लागि सहयोग गर्ने नेपाली काँग्रेसका प्रदेश सदस्य गोपाल गुरुङ र क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याय प्रति पनि समितिले धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस