माधव पौडेल, कञ्चनपुर, २७ कार्तिक।कञ्चनपुरको बेलौरीमा निड्स नेपालको आयोजना तथा BMZ/KKS जर्मनीको सहयोगमा नगरपालिकाका वडा नं. ५ र ९ भित्रका आधारभूत तथा माध्यमिक विद्यालयका शिक्षकहरुका लागि मनो परामर्श सेवा सम्बन्धी दुई दिने तालिम बिहीबार सम्पन्न भएको छ।
बुधबार तालिमको उद्घाटन गर्दै निड्स नेपालकी अध्यक्ष दुर्गा खरेलले गर्नुभएको थियो।दुईदिने तालिमका प्रशिक्षक मनो–सामाजिक परामर्शकर्ता लोकबहादुर नेपालीले शिक्षकहरूलाई विद्यार्थीको मनो–सामाजिक अवस्था बुझ्ने सहभागीहरूलाई विद्यार्थीको मनोवैज्ञानिक अवस्था बुझ्ने तरिका, व्यवहारिक सिकाइ प्रविधि र विद्यालयमा उत्पन्न हुने समस्या समाधानका सीप सम्बन्धी प्रशिक्षण प्रदान गरिएको निड्स नेपालका परियोजना संयोजक प्रेम बहादुर विकले जानकरी दिनुभयो।
बिहीबार समापन कार्यक्रमको सभापति निड्स नेपालका सचिव टिका थापा, प्रमुख अतिथि बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट रहनुभएको थियो। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले यस्ता तालिमहरूले शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै विद्यालयमा व्यवहारिक सिकाइका वातावरण निर्माण गर्न सहयोग पुर्याउँनमा मद्दत पुग्ने बताउनुभयो।

निड्स नेपालका सचिव टिका थापाले समापन समारोहमा शिक्षकहरूले सक्रिय रूपमा सहभागी भई मनो–सामाजिक परामर्श सम्बन्धी महत्वपूर्ण ज्ञान र सीप आर्जन गर्न सहज भएको बताउँदै यस तालिमले विद्यालयको सिकाइ वातावरण सुधार हुने बताउनुभयो।तालिमका सहभागी शिक्षकहरूले तालिमबाट सिकेका विषयले विद्यार्थीसँग व्यवहार सुधार्न र परामर्श दिने सीपमा थप बल मिलेको अनुभव सुनाउनुभएको थियो।
प्रतिक्रिया दिनुहोस